
काठमाडौं । मोबाइल ब्रोडब्याण्ड डेटामा सरकारी कम्पनी नेपाल टेलिकमले एकैवर्ष ७६ लाख ६९ हजार ग्राहक गुमाएकाे अस्वभाविक तथ्यांक सार्वजनिक भएको छ । यस्ताे तथ्यांकअनुसार टेलिकमले एकैवर्ष १६ प्रतिशतले माेबाइल डेटाको बजार हिस्सा गुमाएको देखिन्छ ।
ग्राहकले प्रयोग गरिरहेका सिमकार्डका आधारमा मापन भएको यस्तो बजार हिस्सा पछिल्लो एक वर्षमा टेलिकमको खुम्चदा साेही अनुपातमा एनसेलको माेबाइल ब्रोडब्यण्डका प्रयोगकर्ता भने बढेको देखिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असारको तथ्यांकअनुसार टेलिकमको मोबाइल ब्रोडब्याण्ड सेवा ७१.८५ प्रतिशतबाट ५५.६८ प्रतिशतमा खुम्चिएको छ । टेलिकमको बजार खुम्चदा एनसलेको भने १६.१७ प्रतिशतले बढेको छ । एनसेलको यस्तो मोबाइल ब्रोडव्याण्ड सेवा २८.१५ प्रतिशतबाट बढेर ४४.३२ प्रतिशत पुगेको छ ।
ग्राहकलाई सिमकार्ड वितरण गर्नेमा एनसेलभन्दा टेलिकम अगाडि भएपनि पछिल्लो समय यसले आफ्नो बजार हिस्सालाई गुमाउँदै गएको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार गत वर्ष २ करोड २४ लाख सिमकार्ड प्रयोगकर्ताले मोबाइल ब्रोडव्याण्ड सेवा लिएको देखिएपनि यो गत वर्ष यस्तो प्रयोगकर्ता १ करोड ४७ लाखमा खुम्चिएका छन् । यो तथ्यांक अनुसार टेलिकमको माेबाइल ब्राेडब्याण्ड अर्थात् डेटा प्रयाेगकर्ता पछिल्लो एक वर्षमै ७६ लाख ६९ हजार ६२२ ले घटेको देखिन्छ ।
प्राधिकरणकै सोही तथ्यांक अनुसार एनसेलको ब्रोडव्याण्ड प्रयोगकर्ता भने अघिल्लो वर्ष २०८१ को असारसम्ममा ८७ लाख मात्रै थिए भने २०८२ को असारमा १ करोड १७ लाख पुगेका छन् । यो तथ्यांकले एनसेलको मोबाइल ब्रोडब्याण्डका ग्राहक संख्या पछिल्लो एक वर्षमा २९ लाख ५८ हजार ५४८ ले बढेको देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार सम्बन्धित सेवाप्रदायकले उपलब्ध गराएको तथ्यांकलाई प्राधिकरणले कम्पाइल मात्रै गरेर सार्वजनिक गर्ने गरेको छ । सेवाप्रदायकले जे जस्तो तथ्यांक उपलब्ध गराएका छन् त्यसैलाई मासिकरुपमा सार्वजनिक गर्ने गरिएकोले के कारणले प्रयोगकर्ता घटे वा बढे भन्ने विषयको विश्लेषण प्राधिकरणले नगर्ने अर्यालले बताए । उनका अनुसार यसकाे कारणका विषयमा भने सम्बन्धित सेवाप्रदायकसँगै नै बुझ्नुपर्छ ।
पछिल्लो समय टेलिकमले ग्राहक प्रवद्र्धन गर्न नसकेको र एनसलेले आक्रामक बजारीकरण गरिरहेका कारण त्यसको प्रभाव तथ्यांकमा देखिएको हुनसक्ने नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको भनाइ छ । प्राधिकरणका अनुसार एनसेल निजी कम्पनी भएकोले प्रवद्र्धनात्मक कार्यक्रमदेखि ग्राहक आकर्षित प्याकेजसम्मा ध्यान दिएको देखिएको छ ।
नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार नियामक निकाय नेपाल दूरसन्चार प्राधिकरणले सेवाप्रदायकले उपलब्ध गराएकै तथ्यांक सार्वजनिक गर्ने गरेकोले त्यसलाई नै आधिकारिक मान्नुपर्छ । तर अस्वभाविक रुपमा घटेको मोबाइल डेटा प्रयोगकर्ताको विषयमा भने बुझ्नुपर्ने बताए ।
एनसेलले ग्राहकलाई बढीभन्दी बढी सेवा प्रयोग गराउन र डाटा केन्द्रित व्यापार गरिरहको छ । पछिल्लो समय एनसेलले अटो रिन्यू प्याकेज दिने, तोकिएको समयमा नसकिएको डेटालाई फेरि नवीकरण गरेर पुन खपत गर्न पाउने, रिचार्ज गर्दा पनि ५० रुपैयाँभन्दा बढीको मात्रै गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यसले एनसलेलको प्रयोगकर्ताले गर्ने खर्च र डेटा प्याकेजको खपत पनि बढेको उल्लेख छ ।
टेलिकम भने सरकारी कम्पनी भएकोले आवश्यक प्रक्रिया पूरा गर्दा र सरकारको स्वीकृतिदेखि सार्वजनिक खरिदको प्रक्रिया पालना गर्दागर्दै पछाडि पर्ने गरेको बताउँने गरेको छ । टेलिकमले आक्रामकम बजार विस्तार गर्न नसकेकाे कारण प्रतिस्पर्धीको तुलनामा कमजोर बन्दै गएको पनि देखिएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अस्वभाविक भएपनि दुइ कम्पनीलाई तुलना गरेरै आएकोले पत्याउनुपर्ने हुन्छ । टेलिकमको तुलनामा ग्राहक लक्षित प्याकेज ल्याउने, प्रवर्द्धनको काम गर्ने, आकर्षक स्किम ल्याउनमा एनसेल नै अगाडि छ ।
मोबाइल डेटामा कुल आम्दानीकै ३५ प्रतिशतभन्दा बढीको बजार हिस्सा बनाउन सफल एनसेलका अनुसार पछिल्लो समय मोबाइल ब्रोडब्याण्डमा बजार हिस्सा बढ्नुलाई बेला बेलामा आइरहने स्कीम र ग्राहकको एनसेलप्रति देखाएको रुची नै भएको दाबी गरेको छ ।









प्रतिक्रिया