
एजेन्सी । रुस र चीनका जलसेनाले एसिया प्रशान्त क्षेत्रका विभिन्न स्थानमा संयुक्त गश्ती गर्ने रुसको इन्टरफ्याक्स समाचार संस्थाले बुधवार समाचार प्रकाशन गरेको छ ।
केही दिनअघि यी दुई देशका जलसेनाले जापान सागरमा संयुक्त अभ्यास गरेका थिए ।
रुसको प्रशान्त महासागर बेडाको प्रेस सर्भिसलाई उद्धृत गर्दै इन्रफ्याक्सले उल्लेख गरेअनुसार, रुसी जलसेना र चिनियाँ जलसेनाका कर्मचारीहरूले नयाँ कार्यदल बनाएर एसिया प्रशान्त क्षेत्रमा संयुक्त गश्ती गर्नेछन् ।
गत अगस्ट १ देखि ५ सम्म यी दुई देशका सेनाले जापान सागरमा आर्टिलरी (तोप) फायरिङ अभ्यास, पनडुब्बीनिरोधी तथा हवाई प्रतिरक्षा मिसनको अभ्यासका साथै समुद्रमा संयुक्त खोजी तथा उद्धार कार्यको सुधारको अभ्यास गरेका थिए ।
अभ्यासको अन्तिम चरणमा रुसको विशाल पनडुब्बीनिरोधी जहाज एड्मिरल ट्रिब्युट्स र ग्रोम्की कोर्भेटले चिनियाँ डिस्ट्रोयर जहाज शाओसिङ र उरुम्छीसँग मिलेर लाइभ फायर प्रशिक्षण अभ्यास गरेका थिए । उनीहरूले शत्रुको पनडुब्बीलाई खोज्ने र ध्वस्त पार्ने अभ्यास पनि गरेका थिए ।
यी अभ्यासहरू प्रतिरक्षात्मक भएको र अन्य मुलुकविरुद्ध लक्षित नरहेको प्रशान्त बेडाले जनाएको थियो ।
रुस र चीनले सन् २०२२ मा सीमारहित रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । त्यसपछि दुई मुलुकले आफ्ना सैनिकहरूबीचको समन्वय बढाउन तथा शत्रुहरूलाई निवारण गर्नका लागि नियमित अभ्यास गरिरहेका छन् ।








प्रतिक्रिया