
एजेन्सी । भारतको कांग्रेस पार्टीका नेता तथा सांसद राहुल गान्धीले बुधवार प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै उनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको सामना गर्न असमर्थ रहेको बताएका छन् ।
अर्बपति गौतम अडानीमाथि अमेरिकाले गरिरहेको अनुसन्धानका कारण ट्रम्पले लगातार थर्काइरहँदा पनि मोदीले उनको सामना गर्न नसकेको गान्धीको भनाइ छ ।
एक्समा पोस्ट गर्दै गान्धीले लेखे, ‘भारत, यो कुरा बुझ । ट्रम्पले लगातार थर्काइरहेको भए पनि प्रधानमन्त्री मोदीले उनको सामना गर्न सक्दैनन् किनकि अमेरिकामा अडानीमाथि अनुसन्धान चलिरहेको छ । मोदी, अडानीको कम्पनी र रुसी तेल सम्झौताबीचको आर्थिक सम्बन्ध उजागर हुने डर छ , मोदीको हात बाँधिएको छ ।’
ट्रम्पले भारतीय वस्तुमा २५ प्रतिशत आयातकर लगाउने घोषणा गरेपछि भारत र अमेरिकाबीचको सम्बन्ध चिसिएको छ । रुसी तेल आयात गरेकोमा ट्रम्पले भारतमाथि अतिरिक्त जरिवानाको घोषणा गरेका छन् ।
मंगलवार मात्र ट्रम्पले २४ घन्टाभित्र भारतविरुद्धको आयातकर ह्वात्तै बढाउने धम्की दिएका छन् । सीएनबीसीसँगको अन्तर्वार्तामा भारत राम्रो व्यापारिक साझेदार नभएको भन्दै उनले आयातकरको विषयमा कुरा नमिलेको बताए ।
सोमवार भारतले विज्ञप्ति जारी गर्दै रुसबाट तेल आयात गर्ने कदमको प्रतिरक्षा गरेको छ । युक्रेन युद्धपछि रुसी तेल किन्नका लागि अमेरिकाले नै प्रोत्साहन गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ । आफ्नो राष्ट्रिय आवश्यकताका कारण रुसी तेल किनिरहेको र पश्चिमले किनिरहेको भन्दा कम मात्रामा आफूले लिइरहेको भारतले स्पष्ट पारेको छ ।
अमेरिका र युरोपेली संघले रुससँग व्यापारिक सम्बन्ध कायम राखेको तर भारतलाई चाहिँ तारो बनाएर दोहोरो मापदण्ड अपनाएको आरोप पनि भारतले लगाएको छ ।
सन् २०२४ को नोभेम्बरमा अर्बपति गौतम अडानी र अन्य सातजना प्रतिवादीलाई अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले भ्रष्टाचारको आरोप लगाएको थियो । सौर्य विद्युतको आपूर्तिमा ठेक्का पार्नका लागि भारतीय अधिकारीहरूलाई साढे २६ करोड डलर घूस दिएको आरोप उनीहरूलाई लगाइएको छ । उक्त ठेक्काबाट अडानी समूहले २० वर्षसम्म २ अर्ब डलरको नाफा पाइरहन्छ ।
अडानी समूहले आरोपको खण्डन गर्दै त्यो आधारहीन भएको जनाएको छ ।
मोदीले अहिलेसम्म आयातकरको विषयमा ट्रम्पको नाम उच्चारण गरेका छैनन् । उनले ट्रम्पको नाम लिनेबित्तिकै अमेरिकाले अडानीविरुद्ध मुद्दा अघि बढाउने विश्लेषकहरूले अनुमान गरेका छन् ।








प्रतिक्रिया