
विराटनगर । सरकारले तोकेको अनुदान रकम नपाएपछि मुलुकभरका उखु किसान आन्दोलनमा उत्रिएका छन् । सरकारले गत वर्षको कात्तिकमा उखुको मूल्य निर्धारण गर्दा किसानलाई सरकारको तर्फबाट प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो।
तर अहिले सरकार प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र अनुदान दिने अडानमा रहेपछि देशभरका उखु किसान सडकमा उत्रिएका हुन् । सरकारको आर्थिक अवस्था कमजोर भएको भन्दै अनुदान कटौती गरिएको किसानको गुनासो छ ।
किसानले उखु मिलबाट प्रतिक्विन्टल ५८५ रुपैयाँ प्राप्त गरेका थिए। सरकारले अतिरिक्त रूपमा ७० रुपैयाँ दिने घोषणा गरे पनि अहिले आएर ३५ रुपैयाँ मात्र दिने भनिएको छ । कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले भने, ‘सरकारले नै ढाँटेपछि किसान सडकमा उत्रिन बाध्य भएका हुन् ।’
मुलुकभर १३ वटा उखु मिल छन् । ती मिलमा २५ हजारभन्दा बढी किसान आवद्ध छन् । तोकिएको अनुदान रकम पाउनुपर्ने मागसहित किसानहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइसकेका छन् ।
मंगलबार प्रत्येक मिलमा कालो झण्डा गाडेर र टायर बालेर विरोध जनाइएको छ । अध्यक्ष चौधरीका अनुसार, अब सबै उखु किसान काठमाडौँ गएर माइतीघर मण्डलामा धर्ना बस्ने कार्यक्रम रहेको छ।
सरकारले विगत तीन वर्षदेखि उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो । यस वर्ष पनि सोहीअनुसारको घोषणा भए पनि कार्यान्वयनमा पछि हटेको किसानको आरोप छ ।
अध्यक्ष चौधरीले भने, ‘सरकारले नै ढाँटेपछि कस्को के लाग्छ? एकातिर अधिकांश उखु मिलले किसानलाई समयमा भुक्तानी नदिएर रुवाएको छ, अर्कोतिर सरकारले पनि छल गरेको छ।’
मुलुकभरका उखु किसानले प्रति क्विन्टल ७० रुपैयाँका दरले सरकारबाट झन्डै १ अर्ब ६० करोड रुपैयाँ अनुदान पाउनु पर्ने अवस्था छ । स्टन सुगर मिलका किसानले मात्र १३ करोडभन्दा बढी पाउने हिसाब छ । तर प्रतिक्विन्टल ३५ रुपैयाँका दरले मात्र अनुदान दिइए किसान ठूलो मारमा पर्ने निश्चित छ ।
‘विगतमा यही अनुदान रकमले किसानले दशैँ मनाउने गर्थे,’ चौधरीले भने, ‘यसपाली आधा मात्र दिने हो भने किसानको दशैँ खल्लो हुने भयो ।’
स्टन सुगर मिलले किसानलाई उखुको भुक्तानी गरिसकेको छ। सरकारबाट पाउने अनुदानले दशैँ मनाउने आशा राखिएको किसानको भनाइ छ ।
‘अनुदान रकम नै आधा मात्र दिने हो भने हाम्रो दशैँ बिग्रने भयो,’ उखु किसान कृष्ण नेपालले भने, ‘उखु क्रसिङ गरेबापत मिलले सरकारलाई भ्याट तिर्छ। यही भ्याट रकम सरकारले किसानलाई अनुदानका रूपमा फिर्ता दिने गरेको हो। मिलबाट लिएको रकममै दलाली गरेर किसानलाई दिन लाज मान्नु लाजमर्दो विषय हो ।’
स्टन सुगर मिलले यसपालि १८ लाख ५५ हजार क्विन्टल उखु क्रसिङ गरेर करिब १ लाख ४० हजार क्विन्टल चिनी उत्पादन गरेको छ । यो मिलमा कोशीका २२ सय किसान आवद्ध छन् ।







प्रतिक्रिया