
एजेन्सी । बारम्बार द्वन्द्व र सीमाविवाद झेलिरहेको दक्षिण एसियामा अहिले एक नयाँ र खतरनाक रणनीतिक मोर्चा खुल्ने संकेत देखिएको छ ।
यसका केन्द्रमा छन्, पाकिस्तानका सेनाप्रमुख फील्ड मार्शल असीम मुनीर । लोकतान्त्रिक सरकार भए पनि देशका वास्तविक शासक मुनीर नै हुन् । हाल अमेरिकासँगको सम्बन्ध मजबुत बनाउँदै गरेका मुनीरले भारतविरुद्ध नयाँ रणनीति बनाइरहेको भारतीय सञ्चारमाध्यम दी इकोनोमिक टाइम्सले लेखेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले दी इकोनोमिस्टलाई दिएको अन्तर्वार्तामा पाकिस्तान र भारतबीच भविष्यमा युद्ध भयो भने पाकिस्तानले पूर्वबाट सुरु गर्ने बताएका छन् । यो भनाइ बंगलादेशमा पोहोर साल भएको सत्ता परिवर्तन र त्यसले ल्याएको सुरक्षा संरचनामा परिवर्तन सन्दर्भमा आएको हो । उक्त क्षेत्र प्रयोग गरेर भारतमाथि दबाब दिने पाकिस्तानको योजना रहेको संकेत मिलेको छ ।
सन् २०२५ को सुरुवाती दिनसम्म भारतले बंगलादेशसँग सुमधुर सम्बन्ध कायम राखेको थियो । तर, शेख हसिना सत्ताच्युत भएपछि कठोर इस्लामी धारको सरकार सत्तामा आएसँगै त्यसले पाकिस्तानसँगको सम्बन्ध बढाएको देखिएको छ ।
बंगलादेशीहरूले पाकिस्तानको गुप्तचर संस्था आईएसआईसँगको सम्पर्क बढाएका छन् । चटगाँव क्षेत्र र भारतको उत्तरपूर्वी सीमामा हतियार तस्करी बढ्नुका साथै उग्रवादीहरूको गतिविधिमा वृद्धि भएको छ ।
गत वर्षदेखि फील्ड मार्शल मुनीरले पाकिस्तानलाई विश्वमा राजनीतिक भूमिका दिलाउन प्रयास गरिरहेका छन् । उनले गत जुन महिनामा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटघाट गरेपछि अमेरिकी सेनाका वरिष्ठ जनरल माइकल कुरिल्लालाई पाकिस्तानको सर्वोच्च नागरिक सम्मान निशान–ए–इम्तियाज प्रदान गरे । कुरिल्लाले पाकिस्तानलाई आतंकविरुद्धको असाधारण साझेदार भनी प्रशंसा गरेका थिए ।
राष्ट्रपति ट्रम्पले भारतप्रति व्यंग्यात्मक टिप्पणी गर्नु, नयाँ ट्यारिफ लगाउनु र पाकिस्तानबाट तेल किन्ने योजना सार्वजनिक गर्नुले मुनीरलाई झन् हौसला दिएको छ । मुनीर अहिले आफैंलाई इरान र इजरायलबीचको सम्बन्ध सामान्यीकरणमा समेत भूमिका खेल्ने सम्भावित व्यक्तिका रूपमा प्रस्तुत गरिरहेका छन् ।
भारतसँग पारम्परिक सैन्य क्षमतामा कमजोर रहेको पाकिस्तानले अब पूर्वी मोर्चाबाट अप्रत्याशित हमला गरेर भारतको ध्यान दुईवटा दिशामा बाँड्ने योजना बनाएको विश्लेषकहरू बताउँछन् । भारतको पूर्वोत्तर राज्यहरू असम, त्रिपुरा र पश्चिम बंगाल पहिलेदेखि नै संवेदनशील छन् । यहाँ भाषा, संस्कृति, र जनसंख्या मिश्रणका कारण पाकिस्तान समर्थित तत्त्वहरूको प्रवेश हुँदा पनि पत्ता लगाउन गाह्रो हुन्छ ।
पश्चिमी मोर्चा जस्तो उच्च निगरानी र सुरक्षा नभएको पूर्वी सीमाबाट पाकिस्तानले इस्लामी गुटहरू प्रयोग गरी अप्रत्यक्ष हमला गर्ने सम्भावनालाई रणनीतिक विकल्पका रूपमा राखेको देखिन्छ ।
भारतले हालै अपरेशन सिंदूर अन्तर्गत पाकिस्तानभित्र नौवटा आतंकवादी शिविर र एक दर्जनभन्दा बढी एयर बेसहरूमा क्षेप्यास्त्र आक्रमण गर्दै आफ्नो सैन्य क्षमता प्रदर्शन गरिसकेको छ । यद्यपि, यो आक्रमण पाकिस्तानका लागि चेतावनी मात्र बनेको देखिन्छ । मुनीर नेतृत्वके पाकिस्तानले भारतको परम्परागत प्रभुत्वलाई कमजोर बनाउनका लागि एसिमेट्रिक वारफेयरलाई जोड दिन थालेको देखिन्छ ।
भारतीय गुप्तचर निकायहरूले देशको पूर्वी सीमामा निगरानी बढाएका छन् । विशेषगरी असम र मेघालय सीमामा सेना, अर्धसैनिक बल र सुरक्षाकर्मीहरूलाई सतर्क अवस्थामा राखिएको छ ।
मुनीरको रणनीति अब केवल कश्मीरकेन्द्रित छैन । उनले बंगलादेश र भारतको पूर्वोत्तरलाई समेत समेट्ने बहुमोर्चा रणनीति अंगीकार गरेका छन् । अमेरिकी समर्थन, आन्तरिक शक्ति सुदृढीकरण र भारतप्रतिको असंलग्न धारणालाई मिलाएर पाकिस्तानले अहिले ठूलो जोखिम मोलेको छ । सम्भावित आक्रमणहरूलाई पूर्वानुमान गरेर पूर्वतयारी गर्नु र पूर्वी सीमाको सुरक्षानीति पुनः सन्तुलनमा ल्याउनु भारतका लागि अबको चुनौती हो ।
भारत र पाकिस्तानले संवादको वातावरण बनाउन सकेनन् भने दक्षिण एसिया फेरि एकपटक आणविक तनावको भयावह मोडमा पुग्न सक्छ ।








प्रतिक्रिया