
एजेन्सी । अमेरिकाले पर्यटकका रूपमा वा व्यवसाय गर्नका लागि जान खोज्ने व्यक्तिलाई अमेरिकामा निर्धारित समयभन्दा बढी बस्नबाट रोक्नका लागि नयाँ नियम ल्याउन लागेको छ ।
रोयटर्स समाचार संस्थाले प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, अमेरिकी सरकारले नयाँ सूचना निकालेर अब कतिपय देशका नागरिकले अमेरिकाको पर्यटक वा व्यावसायिक (बिजनेस) भिसाका लागि ५ देखि १५ हजार डलर (२१ लाख नेपाली रुपैयाँ) सम्मको धरौटी तिर्नुपर्ने हुन्छ । औसतमा १० हजार डलर धरौटी तिर्नैपर्ने हुन्छ । यो व्यवस्था दुई हप्तापछि अर्थात् भदौ २० गतेबाट लागू हुनेछ ।
फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार, अमेरिकी वाणिज्य दूतावासका अधिकारीहरूले भिसा आवेदन दिने व्यक्तिको देशका मानिसले भिसा अवधिभन्दा बढी बस्ने घटना धेरै भएमा वा त्यस देशबाट आउने व्यक्तिहरूको पृष्ठभूमि जाँच गर्न सकिने भरपर्दाे प्रणाली नभएमा यस्तो किसिमको धरौटी रकम माग्न सक्नेछन् ।
यो व्यवस्था करिब एक वर्षसम्म चल्नेछ । त्यसरी अमेरिका पुगेका व्यक्तिले भिसा नियम अनुसार निर्धारित समयमै अमेरिका छाडेमा तिनीहरूले बुझाएको धरौटी फिर्ता दिइनेछ । तर, भिसाको मिति सकिएपछि बसेको खण्डमा भने धरौटी रकम अमेरिकी सरकारले काट्ने छ ।
यो कार्यक्रम सन् २०२० नोभेम्बरमा पनि सुरु गरिएको थियो तर कोभिड–१९ ले गर्दा यात्रा घटेपछि त्यो कार्यान्वयन हुन सकेको थिएन ।
यो नयाँ धरौटीको व्यवस्था सीमित मात्रामा लागू हुने यूएस ट्राभल एसोसिएसनले अनुमान गरेको छ । करिब २ हजार व्यक्ति मात्र यसबाट प्रभावित हुने उसको अनुमान छ ।
अमेरिकाको इमिग्रेशन डिपार्टमेन्टले दिएको तथ्यांकअनुसार, अफ्रिकी मुलुक बुरुन्डी, जिबुटी, टोगो लगायतका देशहरूबाट भिसा अवधिभन्दा बढी समय बस्ने व्यक्तिहरूको संख्या धेरै छ । त्यसैले ती देशका नागरिकलाई यो नियम लागू हुन सक्छ ।
अमेरिकी संसद्ले हालै पारित गरेको कर तथा खर्च विधेयकमा पनि भिसासम्बन्धी नयाँ व्यवस्था गरिएको छ । त्यस व्यवस्थाअनुसार, गैरआप्रवासी भिसाका लागि आवेदन दिने जोकोहीले अब भिसा इन्टेग्रिटी शुल्कको रूपमा २५० डलर (३५ हजार रुपैयाँ) तिर्नुपर्नेछ । यो शुल्क आगामी अक्टोबर १ अर्थात् १५ असोजदेखि लागू हुनेछ ।
यूएस ट्राभल एसोसिएसनले यो नयाँ शुल्कले पर्यटनमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ । यो नियम लागू गरियो भने अमेरिका संसारकै सबैभन्दा महँगो भिसा शुल्क उठाउने देश बन्न सक्ने संस्थाले जनाएको छ ।







प्रतिक्रिया