के हो ‘डेड ह्यान्ड’ प्रणाली जसका विषयमा रुस र अमेरिकाबीच चुलियो तनाव ?

896
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसको सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभसँगको तीव्र विवादपछि रुसलाई सन्देश दिनका लागि उपयुक्त स्थानमा आणविक पनडुब्बी तैनाथ गर्ने निर्णय लिएकाले संसारमा आणविक त्रास छाएको छ ।

पश्चिमी विश्लेषकहरूले यस प्रकरणबाट फेरि एकपटक मस्को र वाशिङटनको आणविक क्षमताको स्मरण भएको बताएका छन् ।

विशेषगरी मेदभेदेभले उल्लेख गरेको ‘डेड ह्यान्ड’ प्रणालीले ट्रम्पको पारा तताएको हो । ‘पेरिमिटर’ पनि भनिने त्यस प्रणालीले रुसमाथिको कुनै पनि प्रकारको आणविक आक्रमणलाई निरर्थक बनाइदिन्छ भनी विश्लेषकहरू बताउँछन् ।

मानौं, अमेरिका र बेलायतले मिलेर रुसमाथि आणविक आक्रमण गरेछन् भने रुसका सबै ठूला शहरहरू ध्वस्त हुनेछन् । त्यसक्रममा सैन्य तथा राजनीतिक नेतृत्व समाप्त हुनेछ । त्यस अवस्थामा पनि रुससँग ‘डेड ह्यान्ड’ का रूपमा ‘ब्याकअप’ प्रणाली छ ।

यो प्रणाली स्वचालित छ । यस्तो परिस्थितिमा रुसभरिका सेन्सरहरूले विकिरण, तापीय ऊर्जा र भूकम्पीय गतिविधिको आधारमा आणविक आक्रमण भएको प्रमाण संकलन गर्नेछन् । त्यसपछि उक्त प्रणालीले मस्कोस्थित नियन्त्रण केन्द्रबाट आदेशको प्रतीक्षा गर्नेछ ।

कुनै प्रतिक्रिया प्राप्त भएनछ भने राजनीतिक नेतृत्व नै समाप्त भइसकेको अर्थ लाग्छ । त्यसपछि पेरिमिटर प्रणालीले स्वचालित रूपमा अमेरिका र नेटो मुलुकहरूतर्फ करिब ४ हजारवटा आणविक मिसाइलहरू प्रहार गर्नेछ ।

यसको सन्देश एकदम स्पष्ट छ । रुससँग आणविक युद्ध गरियो भने कसैले पनि जित्न सक्दैन । पश्चिम पूर्ण रूपमा नष्ट हुनेछ ।

त्यसैले संसारको सबैभन्दा ठूलो आणविक शक्ति रुसलाई सजिलै पराजित गर्न सकिन्छ भनी सोच्नै नसकिने विश्लेषकहरू बताउँछन् । ट्रम्पले आणविक पनडुब्बीको तैनाथीमार्फत दिएको धम्कीले ट्रम्प विचलित नहुने रुसी विज्ञहरूको भनाइ छ ।