रुस र चीनका जलसेनाले जापान सागरमा संयुक्त अभ्यास गर्दै, अमेरिकालाई सन्देश दिने प्रयास

588
Shares

एजेन्सी । रुसी र चिनियाँ जलसेनाले जापान सागरमा पूर्वनिर्धारित संयुक्त सैन्य अभ्यास अन्तर्गत तोप र पनडुब्बीनिरोधी अभ्यास गरिरहेको रुसको प्रशान्त महासागर बेडाले आइतबार जानकारी दिएको छ ।

रोयटर्स समाचार संस्थाका अनुसार, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दुईवटा आणविक पनडुब्बीहरूलाई उपयुक्त क्षेत्रहरूमा तैनाथ गर्न आदेश दिएपछि यी अभ्यासहरू भइरहेका छन् । रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले सर्वविनाशकारी आणविक हतियारलाई संकेत गर्दै ‘डेड ह्यान्ड’ को उल्लेख गरेपछि ट्रम्पले उक्त आदेश दिएका हुन् । त्यसो त रुस र चीनबीचको संयुक्त अभ्यास हुने तालिका ट्रम्पको आदेशभन्दा धेरै अघिदेखि बनिसकेको थियो ।

इन्टरफ्याक्स समाचार एजेन्सीले प्रशान्त बेडालाई उद्धृत गर्दै लेखेअनुसार, रुसी र चिनियाँ युद्धपोतहरू संयुक्त टुकडीमा सँगै अगाडि बढिरहेका छन् । त्यसमा रुसको ठूलो पनडुब्बीनिरोधी युद्धपोत र चीनका दुईवटा डिस्ट्रोयर (विनाशक युद्धपोत) समावेश छन् ।

इन्टरफ्याक्सका अनुसार, दुवै देशका डिजेल–इलेक्ट्रिक पनडुब्बीहरू पनि अभ्यासमा संलग्न छन् । साथै, चीनको पनडुब्बी उद्धारपोत पनि अभ्यासमा सहभागी छ । यी सैन्य अभ्यासहरूलाई मेरिटाइम इन्टरएक्शन–२०२५ नाम दिइएको छ । यो अभ्यास मंगलवार सकिँदैछ ।

रुस र चीनले सन् २०२२ मा युक्रेन युद्ध सुरु हुनुभन्दा केही अगाडि सीमारहित रणनीतिक साझेदारी सम्झौता गरेका थिए । त्यसयता दुवै मुलुकले नियमित रूपमा संयुक्त सैन्य अभ्यासहरू सञ्चालन गर्दै आएका छन् । त्यसले उनीहरूको सेनाबीच समन्वय सुदृढ गर्नुका साथै विरोधीहरूलाई चेतावनी पनि दिन्छ ।

रुस र अमेरिका विश्वका सबैभन्दा ठूलो आणविक अस्त्रभण्डार भएका देश हुन् । यी मुलुकहरूले प्रायः आफ्ना आणविक पनडुब्बीहरूको तैनाथी र स्थानको खुलासा गर्दैनन् । त्यसकारण ट्रम्पले आणविक पनडुब्बी तैनाथ गरिएको भनी गरेको सार्वजनिक टिप्पणीलाई असामान्य र संवेदनशील रूपमा हेरिएको छ ।

युक्रेन युद्ध अन्त्य गराउन नसकिएकोमा निराश भइरहेको र मस्कोसँगको तनाव झन् बढिरहेको अवस्थामा ट्रम्पको यो अभिव्यक्तिलाई संवेदनशील मानिएको छ ।