
एजेन्सी । भारतले आफ्ना तेल प्रशोधक कम्पनीहरूलाई रुसबाट कच्चा तेल किन्नका लागि रोक लगाउने निर्देशन नदिएको इकोनोमिक टाइम्सले खबर दिएको छ ।
भारतले रुसी तेल किन्ने गरेकाले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दण्डात्मक भन्सार लगाउने घोषणा गरेपछि भारतीय अधिकारीहरू रुससँग सम्बन्ध नबिग्रने गरी देशको ऊर्जा आवश्यकता पूरा गर्नका लागि सोचविचार गरिरहेका छन् ।
रुसबाट लिइरहेको कच्चा तेल तत्कालका लागि नरोक्ने भारतीय अधिकारीहरू बताउँछन् । सरकारी र निजी प्रशोधन कम्पनीहरूलाई जहाँबाट भए पनि कच्चा तेल ल्याउन अनुमति दिइएको छ ।
ट्रम्पले गत बुधवार भारतीय सामानमा २५ प्रतिशत भन्सार लगाउनुका साथै रुससँग सामान किनिरहेको भएर अतिरिक्त कर लगाउने घोषणा गरेका थिए । त्यसको दुई दिनपछि उनले रुसबाट भारतले तेल किन्न छोडेको कुरा सुनेको भन्दै यो राम्रो कदम भएको टिप्पणी गरेका थिए ।
भारतले बजारको शक्ति र मूल्यका आधारमा विदेशबाट ऊर्जा खरिद गरिरहेको अडान लिएको छ । गत साता भारतीय प्रशोधकहरूलाई गैररुसी कच्चा तेल किन्ने योजना लिएर आउन भनिएको ब्लूमबर्ग सञ्चारमाध्यमले खबर दिएको थियो । रुसी तेल आउन बन्द भएमा सरकारी प्रशोधकहरूलाई वैकल्पिक ब्यारल कहाँबाट लिन सकिन्छ र कति मात्रामा लिन सकिन्छ भनी अनुसन्धान गर्न भारत सरकारले निर्देशन दिएको बुझिन्छ । रुसको कच्चा तेल पटक्कै उपलब्ध नभएको परिदृश्यमा के गर्ने भनेर पनि योजना बनाउन सरकारले भनेको छ ।
तर, ट्रम्पको धम्कीका बावजूद भारतले रुसबाट कच्चा तेल किनिरहने भनी द न्युयोर्क टाइम्सले शनिवार समाचार छापेको थियो ।
रुसबाट कम तेल किन्ने वा पटक्कै नकिन्ने गरेमा भारतले पुनः एकपटक खाडी मुलुकहरूसँग किन्नुपर्ने हुन्छ । त्यो तेल महँगो पर्छ । नयाँ दिल्लीले तेल आयातमा बढी खर्च गर्न नखोजेको भारतीय अधिकारीहरू बताउँछन् ।








प्रतिक्रिया