
एजेन्सी । पाकिस्तानसँग ऐतिहासिक ऊर्जा साझेदारीको घोषणा गरेको भोलिपल्टै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानी सामानमा १९ प्रतिशत भन्सार लगाएका छन् ।
बिहीवार कार्यकारी आदेश जारी गरेर ट्रम्पले विभिन्न मुलुकहरूमाथि आयातकर थोपरेका छन् । ती नयाँ करहरू सात दिनपछि लागू हुनेछन् ।
पाकिस्तानले यसअघि २९ प्रतिशत आयातकर तिर्नुपरेको थियो । तर, अमेरिकासँग अन्तिम समयमा तेल उत्खनन सम्झौता गरेपछि ट्रम्पले भन्सार दर घटाएर १९ प्रतिशतमा झारेका हुन् ।
मंगलवार ट्रम्पले पाकिस्तानसँग मिलेर त्यहाँ रहेको विशाल तेल खानी उत्खनन गर्ने घोषणा गरेका थिए ।
ट्रुथ सोसलमा यसको घोषणा गर्दै यो अमेरिका र पाकिस्तानबीचको दीर्घकालीन ऊर्जा साझेदारीको उल्लेख्य सुरुवात भएको दाबी गरे ।
पाकिस्तानको कुन ठाउँमा विशाल तेल खानी छ भन्ने स्पष्ट छैन । तर, दुवै देशले अहिलेसम्म उत्खनन नभएको ठाउँबाट तेल निकाल्ने बताएका छन् । त्यो तेल भारतलाई निर्यात गर्ने समेत ट्रम्पले बताएका छन् ।
यस साझेदारीको नेतृत्व गर्ने तेल कम्पनीको खोजी प्रक्रिया चलिरहेको पनि ट्रम्पले जानकारी दिएका छन् ।
सम्झौतामुताबिक पाकिस्तानले अमेरिकाबाट कच्चा तेल ल्याउनेछ । उसले लामो समयदेखि पश्चिम एसियाली मुलुकहरूसँग तेल किन्ने गरेको थियो ।
पाकिस्तानको सबभन्दा ठूलो तेल प्रशोधन कम्पनी सिनर्जीकोले १० लाख ब्यारल अमेरिकन वेस्ट टेक्सस इन्टरमिडिएट कच्चा तेल भिटोल भन्ने कम्पनीसँग किन्ने सिनर्जीकोका उपाध्यक्ष उसामा कुरेशीले बताएका छन् ।








प्रतिक्रिया