भारत आएर मेस्सीले क्रिकेट खेल्ने !

749
Shares

एजेन्सी । आगामी डिसेम्बर महिनामा महान् अर्जेन्टिनी फूटबलर लियोनल मेस्सीले क्रिकेट खेल्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले समाचार दिएका छन् ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा मेस्सीले सातजना खेलाडी भएको टिमबाट क्रिकेट खेल्ने सम्भावना छ । मेस्सीको टिमले महेन्द्र सिंह धोनी र विराट कोहलीको टिमसँग प्रतिस्पर्धा गर्न सक्छ ।

यस खेलका लागि तयारी चलिरहेको छ । एक प्रख्यात इभेन्ट एजेन्सीले मुम्बई क्रिकेट एसोसिएसनलाई डिसेम्बर १४ का लागि ग्राउन्ड बुकिङ गर्न लगाएको छ । भारतमा प्रमोशनल टुरका लागि मेस्सी त्यतिखेर मुम्बई आउने अपेक्षा छ ।

दी इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार, मेस्सी डिसेम्बर १४ मा वानखेडे स्टेडियममा हुनेछन् । उनले पूर्व र क्रियाशील क्रिकेटरहरूसँग क्रिकेट खेल्ने सम्भावना पनि छ । सबै कुराको टुंगो लागेपछि आयोजकहरूले खेलको तालिका सार्वजनिक गर्नेछन् ।

डिसेम्बर १३ देखि १५ सम्म मेस्सी भारतमा रहने सम्भावना छ । उनले नयाँ दिल्ली र कोलकाताको भ्रमण पनि गर्नेछन् । उनी भारत आएछन् भने १४ वर्षमा उनको यो दोस्रो भ्रमण हुनेछ । यसअघि सन् २०११ मा उनी कोलकाताको साल्ट लेक स्टेडियममा भेनेजुएलाविरुद्ध अर्जेन्टिनाको मैत्रीपूर्ण फूटबल खेल्न आएका थिए ।

३८ वर्षीय मेस्सी अहिले अमेरिकाको मेजर लीगमा इन्टर मायामी क्लबका लागि खेलिरहेका छन् । उनी अर्को वर्ष हुन लागेको विश्वकपमा अन्तिपटक प्रतिस्पर्धा गर्ने सोच बनाइरहेका छन् । फिफा विश्वकप सन् २०२६ मा अमेरिकामा हुन लागेको छ ।

सन् २०२२ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो र मेस्सीले विजेता टोलीको कप्तानी गरेका थिए ।