
एजेन्सी । भारतीय सामानहरूमा २५ प्रतिशत भन्सार लगाउने भनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले निर्णय गरेपछि भारतका नीतिनिर्माताहरू स्तब्ध भएका छन् ।
शुक्रवारदेखि लागू हुने नयाँ भन्सार दरका कारण भारतीय अधिकारीहरू चरम निराश भएको ब्लूमबर्ग सञ्चारमाध्यमले खबर दिएको छ ।
तर, भारतले यसको प्रतिकार नगर्ने बताइएको छ । आफ्नो सबभन्दा ठूलो व्यापारिक साझेदार अमेरिकासँग सम्बन्ध कायम राख्नका लागि अन्य विकल्पहरू भारत सरकारले खोजिरहेको छ ।
भारतले अमेरिकासँगको व्यापारनाफा घटाउनका लागि उपाय सोचिरहेको ब्लूमबर्गले अधिकारीहरूलाई उल्लेख गर्दै लेखेको छ । अमेरिकाबाट प्राकृतिक ग्यास, सञ्चार उपकरण र सुनको आयात केही वर्षसम्म बढाउने काम भारतले गर्न सक्छ । तर, भारतले नयाँ रक्षा उपकरणहरू किन्ने सोच बनाएको छैन ।
ट्रम्पले माग गरे जस्तो अमेरिकाबाट थप रक्षा उपकरणहरू किन्ने सोच मोदी सरकारले बनाएको छैन ।
अमेरिकाले भारतलाई अत्याधुनिक एफ–३५ लडाकू विमान बेच्न खोजिरहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत फेब्रुअरी महिनामा वाशिङटन भ्रमण गर्दा ट्रम्पले एफ–३५ए स्टेल्थ लडाकू विमान किन्न आग्रह गरेका थिए । सुरुमा भारतीय अधिकारीहरूले यस प्रस्तावलाई विचार गरेको भए पनि पछि यसलाई अस्वीकार गरे ।
भारतले अमेरिकालाई आफ्नो निर्णय सुनाउँदै आफू अरू देशबाट हतियार किन्न इच्छुक नरहेको प्रस्ट पारेको छ । त्यसको साटो अन्य देशसँग मिलेर भारतमै हतियार बनाउन खोजिरहेको भारतीयहरूले बताएका छन् ।
निकट भविष्यमा मोदी सरकारले अमेरिकाले नयाँ रक्षा सम्झौता गर्ने सम्भावना नरहेको ब्लूमबर्ग लेख्छ ।
भारतले एफ–३५ किन्ने प्रस्ताव अस्वीकार गरे पनि पाँचौं पुस्ताको लडाकू विमानको तत्कालीन विकल्प फेला पारेको छैन । युद्धमा परीक्षण भएको यस वर्गको लडाकू विमान विश्व बजारमा अर्को कुनै छैन ।
भारतको रक्षा क्षेत्रले यस्तो विमान बनाउन सकेको छैन । तेजस लडाकू विमान कार्यक्रमले चौथो पुस्ताको विमान बनाउने लक्ष्य राखेको थियो । तर, उसले यसका लागि दशकौं खर्च गरिसकेको छ र जम्मा ३८ वटा विमान मात्र दिन सकेको छ । तीमध्ये १७ वटा त प्रोटोटाइप मात्र हुन् । युद्धमा यसको परीक्षण खासै नभएकाले यसलाई भारतले निर्यात गर्न सकेको छैन । त्यसैले यसको उत्पादन सुस्त छ ।
विदेशीसँग सहकार्य नगरेमा भारतले पाँचौं पुस्ताको लडाकू विमान बनाउन सक्दैन । अहिले भारतले फ्रान्ससँग मिलेर लडाकू विमान उत्पादन गर्न खोजेको छ ।








प्रतिक्रिया