अमेरिकाको धम्कीपछि भारतका सरकारी प्रशोधन कम्पनीले किन्न छोडे रुसी कच्चा तेल

1.3k
Shares

एजेन्सी । अमेरिकाले रुसी तेल किनिरहेको भारतमाथि दण्ड दिने गरी अतिरिक्त कर लगाउने निर्णय लिएपछि भारतका सरकारी तेल प्रशोधन कम्पनीहरूले स्पट मार्केटबाट रुसी कच्चा तेल किन्न बन्द गरेका छन् ।

इकोनोमिक टाइम्समा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, इन्डियन आयल कर्पोरेसन, भारत पेट्रोलियम कर्पोरेसन, हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन र मंगलोर रिफाइनरीज एन्ड पेट्रोकेमिकल्स लिमिटेडले रुसको कच्चा तेल किन्न छोडेका हुन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार भारतीय निर्यातमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए । भारतले रुससँग रणनीतिक व्यापार सम्बन्ध राखेकोमा अतिरिक्त दण्डात्मक कर लगाउने घोषणा पनि उनले गरेका छन् । विशेषगरी तेल र सैन्य उपकरण खरिदमा यस्तो कर लगाइएको हो ।

भारत संसारको तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता मुलुक हो । सरकारी तेल प्रशोधक कम्पनीहरूले स्पट मार्केटबाट लगभग ४० प्रतिशत कच्चा तेल किन्ने गरेका थिए । ती प्रशोधन कम्पनीहरूले भारतको प्रशोधन क्षमताको ६० प्रतिशत भाग ओगटेका छन् ।

प्रशोधकहरू पश्चिम एसियाली मुलुक वा अन्य देशबाट कच्चा तेल किन्न थाल्ने अपेक्षा गरिएको छ । रुसी कच्चा तेलभन्दा यो महँगो पर्नेछ र कुल प्रशोधन मार्जिनमा असर पर्नेछ ।

तर, निजी कम्पनीहरू रिलायन्स इन्डस्ट्रीज र नायारा इनर्जीले रुससँग तेल किनिरहने बताइएको छ । उनीहरूले विगत दुई वर्षमा प्रशोधित तेल युरोपतर्फ निर्यात गरिरहेका छन् । त्यहाँबाट उनीहरूले राम्रो नाफा कमाइरहेका छन् ।

पेट्रोलियम तथा प्राकृतक ग्यास मन्त्री हरदीप सिंह पुरीले भारतीय बजारबाट रुसी तेल हटाउँदा तेलको मूल्य १३० देखि १४० डलर प्रतिब्यारलसम्म पुग्ने चेतावनी दिएका छन् । आपूर्ति रोकिएको खण्डमा भारतले वैकल्पिक स्रोत प्रयोग गरेर तेलको माग पूर्ति गर्ने उनले बताए । अहिले संसारभरि तेल प्रशस्त मात्रामा रहेकाले मूल्य नियन्त्रणभित्रै रहेको उनको भनाइ छ ।

भारतले रुसबाट सन् २०२५ मा ५०.३ अर्ब डलर बराबरको तेल आयात गरेको छ । भारतको कुल कच्चा तेल खर्च १४३.१ अर्ब डलर छ ।