ट्रम्पले लगाए व्यापारिक साझेदार मुलुकहरूमाथि नयाँ भन्सार दर

161
Shares

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गर्दै व्यापारिक साझेदार मुलुकहरूमाथि नयाँ आयातकर लगाएका छन् ।

बिहीवार अबेर यस निर्णयमा उनले हस्ताक्षर गरेका हुन् । आगामी बिहीवार अर्थात् ७ अगस्टमा यो निर्णय लागू हुनेछ ।

यसमा ६९ वटा मुलुक र युरोपेली संघबाट अमेरिका आउने सामानलाई समेट्छ । सूचीमा नपरेका मुलुकमा सोलोडोलो १० प्रतिशत भन्सार लगाइएको छ ।

ट्रम्पले रेसिप्रोकल (पारस्परिक) व्यापारिक सम्बन्धमा जोड दिनका लागि बनाएको बृहत्तर रणनीति अन्तर्गत यो निर्णय लिएका हुन् । धेरैजसो मुलुकले चर्को भन्सार तिर्नुपर्ने भएको छ भने अन्य कतिपयले अन्तिम समयमा सम्झौता गरेर भन्सार दर घटाएका छन् ।

ह्वाइट हाउसले शुक्रवारसम्मका लागि सम्झौताको मिति तोकेको थियो । त्यसले दिएको दबाबका कारण धेरै मुलुकहरू अन्तिम समयमा सम्झौताका लागि बाध्य भएका थिए । सम्झौता नगर्दा चर्को भन्सार दर तिर्न उनीहरू बाध्य भए ।

चर्को आयातकर बेहोर्नुपरेको मुलुकमा सिरिया अग्रस्थानमा छ । सिरियालाई ४१ प्रतिशत भन्सार लगाइएको छ । त्यसपछि स्विटजरल्यान्डमाथि ३९ प्रतिशत, लाओस र म्यान्मारमाथि ४० प्रतिशत, इराक र सर्बियामाथि ३५ प्रतिशत, लिबिया र अल्जेरियामाथि ३० प्रतिशत कर लगाइएको छ । ताइवान, भारत र भियतनाम २० देखि २५ प्रतिशतको दायरामा छन् ।

युरोेपेली संघले अमेरिकासँग सम्झौता गरेकाले अहिले १५ प्रतिशतभन्दा बढी भन्सार लाग्ने सामानमा नयाँ कर लगाइएको छैन भने अन्य सामानमा मिलाएर कर लगाइनेछ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलाइन लिभिटले संसारका २०० देशहरू अमेरिकाको व्यापार र भन्सार टोलीलाई भेट्न खोजिरहेको बताइन् । आफूहरूले प्रमुख व्यापारिक साझेदारहरूलाई प्राथमिकता दिने उनको भनाइ छ ।

भन्सार लगाउनका लागि ट्रम्पले लिएको कानुनी आधारमाथि बहस भइरहेको छ । उनले सन् १९७७ मा बनेको इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट अन्तर्गतको संकटकालीन शक्ति उपयोग गरेर व्यापार संकटकाल घोषणा गरेका हुन् । तर, न्यायाधीशहरूले यसमा शंका व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय व्यापार अदालतले आयातकरबाट कार्यकारी अधिकारको अतिप्रयोग गरेको भनी गत मे महिनामा निर्णय दिएको थियो । पुनरावेदन अदालतमा हालै भएका सुनवाइमा पनि न्यायाधीशहरूले यो चिन्ता दोहोर्याएका छन् ।

अमेरिकी उपभोक्ताहरूले आयातकरको असर बेहोर्न थालेका छन् । वाणिज्य मन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार, जुन महिनामा मूल्यवृद्धि भएको छ । घरका सजावटी सामानमा १.३ प्रतिशत, मनोरञ्जनका साधनमा ०.९ प्रतिशत र लत्ताकपडामा ०.४ प्रतिशत मूल्यवृद्धि भएको छ । थप आयातकरका कारण मूल्यवृद्धि झन् बढ्ने अर्थशास्त्रीहरू बताउँछन् ।

आयातकरले अमेरिकालाई दीर्घकालमा फाइदा गर्ने ट्रम्पको भनाइ छ । देशका लागि राम्रो सम्झौता गरेको भनी उनले बताएका छन् ।

अमेरिकाले विभिन्न मुलुकहरूसँग आयातकरका विषयमा सम्झौता गरिरहेको र कानुनी लडाइँ चलिरहेको स्थितिमा ट्रम्पको कठोर रवैयाले विश्व व्यापारको आकार परिवर्तन गर्छ कि अमेरिकी अर्थतन्त्रलाई धराशायी बनाउँछ, समयले बताउनेछ ।