
एजेन्सी । कम्बोडियाका सैनिकहरूले युद्धविरामको उल्लंघन गर्दै विवादित सीमाका तीन बेग्लाबेग्लै स्थानमा हतियार प्रहार गरेको थाइल्यान्डको सेनाले आरोप लगाएको छ ।
यसरी आक्रामकता कायम राखेमा थाई सेनाले थप निर्णायक कारवाही गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
दुई देशका सरकारप्रमुखले मलेसियामा युद्धविरामका लागि सहमति गरेका थिए । युद्धविराम सोमवार मध्यरातबाट लागू भएको थियो ।
सीमाविवादका कारण थाइल्यान्ड र कम्बोडियाबीच भएको हिंस्रक भिडन्तमा परेर कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने दुवैतर्फका गरी ३ लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।
कम्बोडियाली सेनाले थाइल्यान्डको सिसाकेत प्रान्तमा रहेका सैनिकहरूमाथि प्रहार गरेको बैंककको आरोप छ । कम्बोडियाली सेनाले साना हतियार र ग्रिनेड प्रहार गरेको जसले गर्दा थाइल्यान्ड आत्मरक्षाका लागि बाध्य भएको थाई सेनाका प्रवक्ता मेजर जनरल विनथाइ सुवारीले बताए ।
युद्धविरामपछिको यो दोस्रो घटना भएको र यसले दुई देशबीचको विश्वासमा खलल पुग्ने उनको भनाइ छ ।
कम्बोडियाले यी आरोपहरूलाई अस्वीकार गरेको छ । आफू युद्धविराममा प्रतिबद्ध रहेको भन्दै उसले स्वतन्त्र पर्यवेक्षकहरूलाई बोलाएको छ ।
युद्धविराम उल्लंघनका आरोप गलत, भ्रामक र विश्वास निर्माण प्रक्रियाका लागि हानिकारक भएको कम्बोडियाको विदेश मन्त्रालयका प्रवक्ता चुम सौनरीले बताए । सरकारले अनुगमन संयन्त्र बनाउने र स्वतन्त्र पर्यवेक्षक ल्याउने कुरालाई समर्थन गर्ने उनको भनाइ छ ।
कम्बोडियामा अगस्ट ४ मा दुवै देशका रक्षामन्त्रीहरूको उच्चस्तरीय बैठक हुँदैछ ।
सीमामा भारी हतियार प्रहार भएको खबर छैन तर दुवै पक्षले सैनिक फिर्ता बोलाएका पनि छैनन् ।








प्रतिक्रिया