कुङ फुका लागि प्रख्यात चीनको शाओलिन मन्दिरमा भ्रष्टाचार गरेको आरोपमा बौद्ध भिक्षु पक्राउ

168
Shares

एजेन्सी । चीनको प्रख्यात शाओलिन मन्दिरमा भ्रष्टाचार गरेको र महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लागेका भिक्षु पक्राउ परेका छन् ।

शी योङसिन नामक ती भिक्षुले उक्त बौद्ध विहारलाई व्यापारिक साम्राज्य बनाएका थिए । उनले मन्दिरको सम्पत्ति र विभिन्न परियोजनाका लगानीहरूको पैसा खाइदिएको मन्दिरका अधिकारीले बयान जारी गरेर बताएका छन् ।

५९ वर्षीय शीले अनेकौं महिलासँग अवैध सम्बन्ध राखेको र एउटा बच्चा समेत पाएको आरोप छ । उनले यस्तो भ्रष्ट आचरण देखाएर बौद्ध नियमको गम्भीर उल्लंघन गरेको बताइएको छ ।

बौद्ध भिक्षुहरूले ब्रह्मचर्यको पालन गर्नुपर्छ ।

चीनको मध्य क्षेत्रमा रहेको जंगल भएको पहाडमा १५ सय वर्षअघि स्थापित शाओलिन मन्दिर धार्मिक र सांस्कृतिक धरोहर हो । त्यो जेन बौद्ध धर्म र शाओलिन कुङ फु दुवैका लागि प्रख्यात छ ।

सन् १९९९ मा शी शाओलिन मन्दिरको प्रमुख भिक्षु बनेका थिए । उनी दुई दशकसम्म चिनियाँ सांसद पनि रहेका थिए । उनी प्रायः मिडियामा आइरहेका हुन्छन् ।

एमबीए गर्ने पहिलो चिनियाँ भिक्षुका रूपमा परिचित शीले हातमा आईफोन बोकेर विश्वका नेता र धनाढ्य व्यापारीहरूसँग तस्बिर खिचाउने गरेका छन् ।

गत फेब्रुअरी महिनामा शीले शाओलिन मन्दिरका भिक्षुहरूको प्रतिनिधिमण्डलका साथ भ्याटिकनमा पोप फ्रान्सिससँग भेटघाट गरेका थिए ।

तर, वर्षौंदेखि उनी विवादमा पनि रहँदै आएका छन् । उनले सन् २००६ मा पर्यटन प्रवर्धनको उपहारका रूपमा १० लाख युआन पर्ने गाडी लिएको विषय विवादित बनेको थियो ।

उनले शाओलिन ब्रान्डलाई प्रवर्धन गर्दै आएका छन् र त्यसलाई करोडौं डलरको व्यापारमा परिणत गरेका छन् । बौद्ध धर्मका कतिपय अनुयायीहरूले यस्तो व्यापारीकरणले धार्मिक संस्थामा भ्रष्टीकरण भइरहेको भन्दै उनको विरोध पनि गर्दै आएका थिए ।

शीले संसारभरि शाओलिन कुङ फु प्रस्तुतिहरू आयोजना गर्दै आएका थिए । मन्दिरको नाम कार्टून, चलचित्र र भिडियो गेममा प्रयोगको अनुमति दिएर उनले मोटो रकम असुल्ने गरेका थिए । उनले पुस्तक प्रकाशन, परम्परागत चिनियाँ औषधोपचार, पर्यटन विकास र घरजग्गा कारोबारबाट पनि कमाइ गरेर व्यापारिक साम्राज्य खडा गरेका थिए ।

पछि शाओलिन मन्दिरका भित्रिया भनी दाबी गर्ने एक व्यक्तिले चिनियाँ सामाजिक सञ्जालमा शीका विरुद्ध गम्भीर आरोप लगाएर पोस्टहरू गरेका थिए । उनले शीलाई भ्रष्ट र यौन दुराचारी भएको आरोप लगाएका थिए ।

सन् १९८० को दशकको अन्त्यतिर शीलाई शाओलिन मन्दिरबाट निकालिएको दस्तावेज समेत उनले सार्वजनिक गरेका थिए । उनले चोरी र अन्य कुकर्म गरेको आरोप त्यतिखेर लागेको थियो । शीले कैयौं अवैध सन्तान जन्माएको आरोप लगाउने व्यक्तिले एकजना बच्चाको जन्म प्रमाणपत्र समेत सार्वजनिक गरिदिएका थिए ।

शाओलिन मन्दिरले ती आरोपहरूको कठोर खण्डन गरेको थियो । त्यसपछि उक्त क्षेत्रको धार्मिक मामिला अधिकारीहरूले अनुसन्धान पनि गरेका थिए ।

तर, यसमा पर्याप्त प्रमाण नभेटिएको भन्दै अधिकारीहरूले सन् २०१७ मा यो मुद्दाको अनुसन्धान बन्द गरेका थिए । त्यसको तीन वर्षपछि शी बुद्धिस्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्षमा पुनर्निर्वाचित भएका थिए ।

सोमवार उक्त एसोसिएसनले विज्ञप्ति जारी गर्दै उनको भिक्षु बन्ने आधिकारिकता खोसिएको जनाएको छ । शीले गरेको कामले बौद्ध समुदायको प्रतिष्ठामा आँच आएको र भिक्षुहरूको छवि धमिल्याएको विज्ञप्तिमा लेखिएको छ ।