दक्षिण कोरियासँग वार्ता गर्नुको औचित्य नरहेको किमकी बहिनीको दाबी

259
Shares

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी प्रभावशाली बहिनीले दक्षिण कोरियाको वार्ता प्रस्ताव अस्वीकार गरेकी छन् ।

हालै सम्पन्न निर्वाचनपछि दक्षिण कोरियामा उदारवादीहरूको सरकार बनेको भए पनि दक्षिणले अमेरिकाप्रति राख्ने गरेको अन्धभक्ति र उत्तर कोरियाप्रति राखेको शत्रुभावका कारण वार्ताको औचित्य नरहेको किम यो जोङले स्पष्ट पारेकी हुन् ।

रुससँग कूटनीतिक सम्बन्ध बढाउन खोजेको उत्तर कोरियाले दक्षिण र अमेरिकासँग तत्कालै कूटनीतिक पहल गर्नु जरुरी नरहेको बताएकी छन् । उनले सौल र वाशिङटनबीच फाटो ल्याउन खोजेको विश्लेषकहरू बताउँछन् ।

दक्षिण कोरियामा ली जे म्युङ राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाले पहिलोपटक आधिकारिक विज्ञप्ति जारी गरेर आफ्नो धारणा राखेको हो । लीले उत्तर कोरियासँगको सम्बन्ध सुधार्ने प्रतिबद्धताका साथ चुनाव जितेका थिए ।

ली सरकारले उत्तर कोरिया सीमामा प्योङयाङविरोधी प्रचारबाजी बन्द गरेको छ । त्यसका साथै प्रोपागान्डा सामग्री राखिएको बलूनहरू सीमापार लैजान पनि प्रतिबन्ध लगाएको छ । त्यस्तै काठको ढुंगामा बगेर आइपुगेका उत्तर कोरियालीहरूलाई घर फर्काउनका लागि पनि उसले पहल गरेको छ ।

सन् २०१९ मा किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच कूटनीतिक वार्ता असफल भएपछि उत्तरले दक्षिण कोरिया र अमेरिकासँग वार्ता गर्न मानेको छैन । त्यसपछि उसले आणविक हतियार निर्माणमा जोड दिएको छ र कोरियाली प्रायद्वीपमा दुई राज्य प्रणालीको घोषणा गरेको छ ।

लीले सम्बन्ध सामान्य बनाउनका लागि इमान्दार प्रयास गरेको किम यो जोङले स्वीकार गरेकी छन् । तर, नयाँ सरकारले उत्तर कोरियासँग जोरी खोज्ने प्रयास गरिरहेको पनि उनको भनाइ छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्न खोजेको कुरा उनले उठाएकी छन् । त्यस अभ्यासलाई उत्तरले आफूमाथिको आक्रमणको पूर्वतयारीका रूपमा हेर्ने गरेको छ ।