
एजेन्सी । ह्युन्डाई मोटरले सन् २०२५ को दोस्रो त्रैमासमा नाफा घटेको जनाएको छ ।
त्यसमाथि अमेरिकाको ट्रम्प प्रशासनले ह्युन्डाईको गाडी र पाटपुर्जामा भन्सार लगाउँदा चालु त्रैमासमा थप नकारात्मक असर पर्ने बताइएको छ ।
ह्युन्डाईको कमाइमा आएको यो कमीले दक्षिण कोरियाली अधिकारीहरूलाई अमेरिकासँग सम्झौताका लागि थप दबाब दिएको छ । अझ, जापानले यसै साता अमेरिकासँग सम्झौता गरेर जापानी गाडीमा २५ प्रतिशतको साटो १५ प्रतिशत मात्र आयातकर लगाउन सफलता पाएपछि दक्षिण कोरियालीहरू दबाबमा परेका हुन् ।
वार्षिक नाफा लक्ष्यमा आफू कायम रहेको ह्युन्डाईले जनाएको छ । तर, अगस्ट १ मा रेसिप्रोकल ट्यारिफ अवलम्बन भएपछि आफूले योजना अद्यावधिक गर्ने ह्युन्डाईको भनाइ छ ।
ह्युन्डाई र उसको साझेदार किया बिक्रीको सवालमा संसारको तेस्रो सबभन्दा ठूलो अटो कम्पनी हो । उसले अप्रिलदेखि जुनसम्ममा २.६४ अर्ब डलर बराबरको नाफा कमाएको छ । तर पोहोर साल यही समयको कमाइभन्दा यो १६ प्रतिशतको कमी हो ।
अमेरिकी भन्सारका कारण ह्युन्डाईले दोस्रो त्रैमासमा ६० करोड डलर घाटा बेहोर्नुपरेको र जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा त्यसको थप असर पर्ने ह्युन्डाईको भनाइ छ ।
अमेरिकाले कोरियाली गाडीहरूमा २५ प्रतिशत भन्सार लगाइरहेको छ । सम्झौता गरेर त्यसमा केही कमी आउने भए पनि कतिसम्म घट्न सक्छ भन्न नसकिने ह्युन्डाईका प्रमुख वित्तीय अधिकृत ली स्युङ–जोले रोयटर्स समाचार संस्थालाई बताएका छन् ।
ह्युन्डाई मोटरले अमेरिकी बजारबाट ४० प्रतिशत कमाइ गर्ने गरेको छ ।
दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले शुक्रवार वार्ता गर्ने भनेको भए पनि अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टको समय नमिल्दा वार्ता सरेको छ ।
ह्युन्डाईले दोस्रो त्रैमासको नाफा विवरण सार्वजनिक गरेपछि उसको सेयर २ प्रतिशतले घटेको छ ।








प्रतिक्रिया