
एजेन्सी । अस्ट्रेलियाको एडलेडमा २३ वर्षीय भारतीय विद्यार्थीमाथि निर्घात कुटपिट गरिएको ९न्युजले समाचार दिएको छ । यस घटनाका कारण अस्ट्रेलियामा रहेका भारतीय विद्यार्थीहरूमा त्रास छाएको छ ।
गत शनिवार स्थानीय समयअनुसार, रातको करिब ९ः२२ मा चरणप्रीत सिंह र उनकी पत्नीले एडलेडको मध्यभागमा रहेको किनटोर एभेन्युमा गाडी रोकेका थिए । उनीहरूको गाडीपछाडि अर्को एक गाडी आयो र त्यसबाट पाँचजना निस्किए । तीमध्ये कतिपयले धारिलो हतियार बोकेका थिए । उनीहरूले सिंहलाई गाडी हटाउन भने ।
त्यसपछि अचानक उनीहरूले सिंहमाथि जातिवादी गालीगलौज गर्दै कुटपिट गर्न थाले । ‘भारतीय, घर फर्की’ भन्दै उनीहरूले सिंहलाई धारिलो हतियारका साथै मुक्काले पनि हिर्काएका थिए ।
सिंहले ९न्युजसँग कुरा गर्दै आफूले उनीहरूको प्रतिकार गर्न खोजेको तर उनीहरूले निर्घात कुटपिट गरेपछि बेहोश भएको बताए ।
सिंहलाई तत्कालै रायल एडलेड अस्पताल लगिएको थियो । त्यहाँ उनको मस्तिष्कमा चोट लागेको, अनुहारको हड्डी भाँचिएको, नाक भाँचिएको र आँखामा गम्भीर चोटपटक लागेको पाइयो । उनी राति अस्पतालमै बसे र उनको शल्यक्रिया गरियो ।
प्रहरीले घटनास्थलमा लडिरहेका सिंहलाई अस्पताल लगेको थियो ।
आइतवार प्रहरीले एनफिल्ड भन्ने ठाउँबाट २० वर्षीय व्यक्तिलाई पक्राउ गरेको थियो । उनलाई क्षति पुर्याउने उद्देश्यले आक्रमण गरेको आरोप लगाइएको छ । पछि धरौटीमा उनलाई रिहा गरिएको थियो । अन्य चार आक्रमणकारीलाई प्रहरीले खोजी गरिरहेको छ ।
दक्षिण अस्ट्रेलियाका प्रमुख पिटर मालिनाउस्कासले यस घटनाको कठोर निन्दा गरेका छन् । जातिवादी घृणाका कारण भएको यस्तो घटनालाई आफूहरूले कुनै पनि हालतमा स्वीकार नगर्ने उनले बताए ।








प्रतिक्रिया