ट्रम्पले ओबामा पक्राउ परेको झूटो भिडियो सेयर गरे

392
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओबामाविरुद्ध नयाँ आक्रमण गरेका छन् ।

ट्रम्पले एआईको सहयोगमा बनाएको भिडियो सोमवार ट्रुथ सोसल अकाउन्टमा अप्लोड गरेर ओबामालाई तारो बनाएका हुन् ।

भिडियोमा ओबामालाई ह्वाइट हाउसबाटै फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनले पक्राउ गरेको देखाइएको छ ।

एक मिनेटको भिडियोको सुरुमा ओबामाले ‘कोही पनि, विशेषगरी राष्ट्रपति, कानूनमाथि हुँदैन’ भनेको सुनिन्छ । त्यसपछि जो बाइडन लगायतका अन्य डेमोक्रेट नेताहरूले पनि ‘कोही पनि कानूनमाथि हुँदैन’ भनेको सुनिन्छ ।

अमेरिकाकी डिरेक्टर अफ नेशनल इन्टेलिजेन्स तुलसी गाब्बार्डले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा भएको ट्रम्पको विजयलाई अवमूल्यन गर्नका लागि ओबामा र उनका अधिकारीहरूले देशद्रोही षड्यन्त्र गरेको आरोप लगाएपछि ट्रम्पले भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियोमा ओबामालाई एफबीआईका दुईजना एजेन्टले पक्राउ गरेको देखिन्छ । पक्राउ अवधिभरि ट्रम्प त्यहीँ नजिक बसिरहेको देखिन्छ । भिडियोको अन्त्यतिर ओबामा जेलको लुगा लगाएर कैदमा बसेको देखाइन्छ ।

सुरुमा टिकटकमा सेयर गरिएको भिडियोलाई पछि ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा सेयर गरेका हुन् ।

गाब्बार्डले ओबामाको राष्ट्रिय सुरक्षा सल्लाहकार टोलीलले सन् २०१६ को निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा जानाजान झूटो र राजनीतिक पूर्वाग्रहले प्रेरित गुप्तचर सूचनाहरू प्रवाह गरेको आरोप लगाएकी छन् ।

राष्ट्रपति ट्रम्पलाई झूटो साबित गर्ने र अमेरिकी जनताको मतादेशलाई अवमूल्यन गर्ने उद्देश्यले उक्त काम गरिएको गाब्बार्डको आरोप छ । आफ्नो कार्यालयले यूएस डिपार्टमेन्ट अप जस्टिसलाई सान्दर्भिक कागजात बुझाइसकेको र फौजदारी अनुसन्धान गर्नुपर्ने भनी गाब्बार्डले माग गरेकी छन् ।