
एजेन्सी । इजरायलको वायुसेनाले यमनको होदेदा बन्दरगाहमा सोमवार ड्रोन आक्रमण गरेको छ ।
यमनका हूतीहरूले इजरायलमाथि लगातार आक्रमण गरिरहेकाले प्रतिकारका रूपमा इजरायलले ड्रोन प्रहार गरेको बताइएको छ ।
इजरायल डिफेन्स फोर्सेसले एक विज्ञप्ति जारी गरेर हवाई आक्रमणबाट हूतीहरूको सैन्य पूर्वाधार ध्वस्त भएको जनायो । पश्चिम यमनमा रहेको होदेदामा इजरायलले पहिला पनि आक्रमण गरेर क्षति पु¥याएको थियो र हूतीहरूले त्यसको मर्मत गरिरहेका थिए ।
इजरायलले यो समेत गरेर १३औं पटक यमनमा आक्रमण गरेको द टाइम्स अफ इजरायलले समाचार दिएको छ । यमन इजरायलबाट १८ सय किलोमिटर टाढा छ ।
विगतमा इजरायलले लडाकू विमान र गुप्तचर विमानहरूको उपयोग गर्ने गरेको थियो । तर, आज उसले ड्रोन प्रहार गरेको हो ।
विगत दुई हप्तामा यमनमाथि इजरायलको यो पहिलो आक्रमण हो । यसबीचमा हूतीहरूले इजरायलमाथि ६ वटा बलिस्टिक क्षेप्यास्त्र र दुईवटा ड्रोन प्रहार गरेका छन् । ती आक्रमणले इजरायलमा जनधनको क्षति नभएको बताइएको छ ।
सोमवारको आक्रमणमा बन्दरगाहको पूर्वाधार पुनर्निर्माणमा उपयोग भएको उपकरण, इन्धनको ट्यांक र सैन्य गतिविधिमा उपयोग भइरहेका जहाजहरूलाई लक्ष्य बनाइएको इजरायली सेनाले जनाएको छ ।








प्रतिक्रिया