
एजेन्सी । भारतको रक्षा मन्त्रालयले फ्रान्ससँगको सहकार्यमा नयाँ पुस्ताको लडाकु विमानका लागि इन्जिन बनाउने प्रस्ताव गरेको छ ।
दी इकोनोमिक टाइम्समा प्रकाशित समाचार अनुसार, यस कदमले भारतमा उन्नत उत्पादन र डिजाइन क्षमताको विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
लडाकु विमानको इन्जिन निर्माणको प्राविधिक पक्षबारे विस्तृत अध्ययन र सल्लाहपछि मन्त्रालयले फ्रान्सको एयरोस्पेस कम्पनी सफ्रानसँग सहकार्य गर्न सिफारिस गरेको हो । यो सहकार्य लगभग ६१ करोड भारु बराबरको परियोजना अन्तर्गत हुनेछ । भविष्यका उन्नत लडाकु विमानका लागि १२ किलोन्यूटन क्षमताको इन्जिन बनाइनेछ ।
सफ्रान र बेलायतको रोल्स रोयस कम्पनीका प्रस्तावहरू तुलना गरेपछि फ्रान्सको प्रस्ताव दुई कारणले स्वीकृत गरिएको थियो ।
पहिलो, एड्भान्स्ड मिडियम कम्ब्याट एयरक्राफ्ट कार्यक्रमसँग अनुकूल हुने समयरेखा र दोस्रो, पूर्ण प्रविधि हस्तान्तरणको प्रतिबद्धताका कारण फ्रान्सलाई यो परियोजना दिइएको थियो ।
यस सहकार्यलाई भारतको इन्जिन आयातमा निर्भरता घटाउने दिशामा महत्त्वपूर्ण मानिएको छ । अहिले भारतमा प्रयोग भइरहेका सबै लडाकु विमान विदेशी इन्जिनमा निर्भर छन् र कुल लागतको ठूलो हिस्सा इन्जिन र यसको मर्मतमा जान्छ ।
भारतले आफ्नो स्वदेशी लडाकु विमान इन्जिन बनाउन ‘कावेरी’ परियोजना लामो समयदेखि अघि बढाएको थियो । तर आवश्यक शक्तिको थ्रस्ट दिन नसकेपछि यो परियोजना पूरा हुन सकेन । अहिले कावेरी इञ्जिनलाई यूसीएभी जलसेनाका साना पानीजहाजहरूका लागि पुनः प्रयोग गर्न थालिएको छ ।
जुलाई १५ मा भारतले अमेरिकाबाट आफ्नो हलुका लडाकु विमान एमके–१ए का लागि दोस्रो जीई–एफ४०४ इन्जिन प्राप्त गरेको छ । हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) ले यो विमानको निर्माण गरिरहेको छ र चालु आर्थिक वर्षमा थप १२ इन्जिन प्राप्त हुने अपेक्षा गरिएको छ ।
भारतीय वायुसेनाले सन् २०२१ मा ८३ वटा एलसीए एमके–१ए विमानको लागि ४८ करोड भारुको अर्डर दिएको थियो ।
एचएएल अहिले अमेरिकाको जीई एयरोस्पेससँग सहकार्य गरेर एफ४१४ इन्जिन भारतमै उत्पादन गर्ने तयारीमा छ । यो सहकार्य लगभग १ अर्ब डलर बराबरको हुने र ८० प्रतिशतसम्म प्रविधि हस्तान्तरण गरिने अनुमान गरिएको छ । भारतमा इन्जिन निर्माण प्रणालीको विकासका लागि यस सम्झौतालाई निकै महत्त्वपूर्ण मानिएको छ ।








प्रतिक्रिया