समुद्रमुनिको तारमा चिनियाँ प्रविधि उपयोग गर्न अमेरिकाले प्रतिबन्ध लगाउने

714
Shares

एजेन्सी । अमेरिकाको फेडरल कम्युनिकेशन्स कमिशनले चिनियाँ प्रविधि वा उपकरण उपयोग भएको समुद्रमुनिको तारहरूमार्फत सञ्चार गर्नबाट कम्पनीहरूलाई रोक्ने नियम ल्याइने जनाएको छ ।

चीन जस्ता विदेशी शत्रुहरूले सबमरिन केबल पूर्वाधारलाई जोखिममा पारेको कमिशनका अध्यक्ष ब्रेन्डन कारले बताए । त्यसैले विदेशी शत्रुबाट अमेरिकाको सबमरिन केबलको सुरक्षा गर्न र उनीहरूलाई त्यसको पहुँचबाट बेदखल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

चीनले समुद्रमुनिको सञ्चार केबलमार्फत गुप्तचरी गर्दै आएको भनी अमेरिकाले वर्षौंदेखि चिन्ता व्यक्त गरिरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरको इन्टरनेट ट्राफिकको ९९ प्रतिशत भाग समुद्रमुनिका ४०० वटा तारमार्फत हुने गरेको छ । त्यसमा डेटा सुरक्षासम्बन्धी चिन्ता अमेरिकाले लिएको छ ।

सन् २०२० देखि अमेरिकी नियामक निकायहरूले चारवटा केबल परियोजना रद्द गरेका छन् । ती परियोजनाका प्रमोटरहरूले अमेरिका र हङकङलाई जोड्न खोजेका छन् ।

कमिशनले समुद्रमुनिको तारलाई विदेशी शत्रुको उपकरणबाट सुरक्षा गर्नका लागि थप उपायका सम्बन्धमा सुझाव पनि मागेको छ ।

सन् २०२३ मा दुईवटा चिनियाँ जहाजले मात्सु टापुसमूहमा इन्टरनेट सेवा दिने दुईवटा केबल काटिदिएको भनी ताइवानले आरोप लगाएको थियो । त्यसैगरी युरोप र एसियालाई इन्टरनेट सेवा दिने तीनवटा केबललाई हूतीहरूले लाल सागरमा आक्रमण गर्दा क्षति पुगेको अनुमान गरिएको छ ।