क्लिक-टक

बैंकिङमा डिजिटल यात्राको फड्कोसँगै साइबर ठगी बढ्दै, प्रयोगकर्ताले सावधानी नअपनाउँदा थप जोखिम

217
Shares

सुजित कुमार शाक्य नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुन् । उम्दा बैंकर शाक्यले नबिल बैंकमै ५ वर्ष काम गरिसकेका छन् । त्यसअघि उनी ग्लोबल आईएमई बैंकमा डीसीईओ थिए ।

बैंकिङ क्षेत्रमा २८ वर्षभन्दा बढीको अनुभव संगालिसकेका शाक्यलाई स्ट्राटेजिक (रणनीतिक) व्यक्तित्वको रुपमा चिनिन्छ । बैंकिङभित्र म्यान विथ स्ट्रेटिजिक ब्रेन भनेर चिनिने शाक्य कुशल फाइनान्सियल एनालिस्ट (वित्तीय विश्लेषक) हुन् । कर्जातर्फ कर्पोरेटदेखि साना तथा मझौता उद्यम क्षेत्र र रिटेल बैंकिङका जानकार शाक्यलाई प्रोफेसनल बैंकरका रुपमा चिनिन्छ ।

भारतको डिल्ली युनिभर्सिटीबाट बिकम (अनर्स) गरेका उनले भारतको इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्ट, लखनउबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट वित्तीय क्षेत्र प्रवेश गरेका उनले विभिन्न वाणिज्य बैंकहरुमा सिनियर लेभलमा काम गरिसकेका छन् ।

प्रस्तुत छ, उनै शाक्यसँग क्लिकमान्डुका पदम भुजेलले बैंकिङ प्रणाली, नबिल बैंकको ४१ वर्षे यात्रा, डिजिटल बैंकिङ र चुनौतीका बारेमा गरेको कुराकानीः

पछिल्ला दुई–तीन वर्ष यता बैंकिङ क्षेत्रले एनपीएल, रिकभरी जस्ता चुनौतीहरू भोगिरहेको छ । हामी चालू आर्थिक वर्षको अन्त्यतिर छौं । यो वर्षको रिकभरी अवस्था कस्तो देखिन्छ ?

यो वर्षको सुरुवातमा हामीले रिकभरीको चुनौती जति मात्रामा सहज हुने सोचेका थियौं, त्योअनुसार सुधार हुन सकेको छैन । बैंकहरूको एनपीएलको सीमा पनि नाटकीय ढंगले अर्थात् छिटो गतिमा सुधार हुने संकेत देखिँदैन । सामान्यतया, बैंकिङ उद्योग तथा समग्र अर्थतन्त्रमा आर्थिक गतिविधि सक्रिय नभएसम्म रिकभरीमा व्यापक सुधार आउन सक्दैन ।

अब आगामी दिनमा राष्ट्र बैंकले सहज मौद्रिक नीति ल्यायो र वित्तीय नीतिलाई अगाडि बढाउन सहयोग ग¥यो भने तथा बजारको तल्लो स्तरबाटै माग बढ्न थाल्यो भने मात्रै हामीले थप सुधारको अपेक्षा गर्न सक्नेछौं । यस्तो अवस्थामा अर्को आर्थिक वर्षसम्म पर्खिनुपर्ने देखिन्छ ।

पछिल्लो समय विभिन्न निजी क्षेत्रसँग कुरा गर्दा, आयातित वस्तु मात्र हेर्ने हो भने पनि उपभोग्य वस्तुहरू र केही घरायसी इलेक्ट्रोनिक प्रोडक्टको कारोबार राम्रो देखिन्छ । यसले बजार अटो–करेक्शन तर्फ गएको हो कि भन्ने देखिन्छ । के यो बैंकहरूले महसुस गर्न पाएका छन् ?

बैंकिङमा त्यसको प्रभाव अझै आइसकेको देखिँदैन । पछिल्ला दुई वर्ष यताको कुरा गर्ने हो भने, अर्थतन्त्र स्ट्याग्नेन्ट हुँदै ‘बटम आउट’ हुन थालेको देखिन्छ । सामान्यतः यसको प्रभाव बैंकमा ढिलो मात्र देखिने गर्छ ।

त्यसैले हाम्रो अर्थतन्त्र डाउनटर्नबाट बटम आउट भएको हो कि होइन भन्ने निष्कर्षमा पुग्न अझै समय लाग्नेछ । यद्यपि, विभिन्न क्षेत्रसँग कुरा गर्दा कतिपय क्षेत्रमा आधारभूत रूपमा उत्साह देखिएको सुनिन्छ । तर, यस्तो संकेत बैंकको ब्यालेन्स शीट, कारोबार तथा क्रेडिट डिमान्डमा प्रत्यक्ष देखिएको छैन ।

उद्योगसँगको अन्तर्क्रियामा पनि एसएमई/एमएसएमई क्षेत्रमा (१० करोडसम्मको कर्जामा) समस्या देखिएको भनिन्छ । तर कुन क्षेत्रमा बढी समस्या देखिन्छ ?

हाम्रो अर्थतन्त्र आफैंमा व्यापारमा आधारित छ । हाम्रो आफ्नै उत्पादन धेरै छैन । एमएसएमई क्षेत्रमा डाइरेक्टेड लेन्डिङका सीमा छन्, अर्थात् २ करोडसम्मको कर्जामा बैंकहरूले तोकिएको प्रतिशतमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । कृषिमा पनि यस्तै सीमा निर्धारण गरिएको छ ।

यस्तो अवस्थामा अर्थतन्त्र चलायमान नहुँदा र डाइरेक्टेड लेन्डिङको लक्ष्य पूरा गर्नुपर्ने बाध्यता हुँदा ‘इजी मनी’ जाने सम्भावना अत्यधिक हुन्छ । सायद, पछिल्लो दुई वर्षयता हामीले देखेको र भोगेको समस्या पनि यही हो । अर्थतन्त्रको तल्लो तहमा माग सशक्त नभएको र त्यही क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने बाध्यताले समस्या उत्पन्न भएको हो ।

आजको दिनमा हिजोको हाम्रो इजि लेन्डिङ नै एमएसएमईको प्रमुख समस्या हो भन्न सकिन्छ ?

हो, कोरोनापछिको वर्षमा ऐतिहासिक रूपमा कर्जा प्रवाह भएको थियो । धेरै व्यवसाय तथा क्षेत्रमा कर्जा गयो । तर, त्यो कर्जा सही रूपमा प्रयोग नभएको, अन्य क्षेत्रमा सरेर गएको वा सोही क्षेत्रमा प्रयोग भए पनि फसेको स्थिति देखिन्छ ।

एमएसएमई अर्थात् कृषितर्फको कर्जामा समस्या भएको कुरा हामी सबै स्वीकार गर्छौं । ठूला उद्यमी जन्माउन कृषि महत्त्वपूर्ण क्षेत्र हो । यो क्षेत्रलाई छाड्न सकिन्न । यस्तो अवस्थामा अब कृषि र एमएसएमईलाई कसरी अगाडि बढाउँदा उपयुक्त हुन्छ ?

एमएसएमई क्षेत्र भनेको विकसित मुलुकहरूमा पनि सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने र जीडीपीमा योगदान दिने क्षेत्र हो । १०–२० जनासम्म रोजगारी सिर्जना गर्ने स्थानीय क्षेत्र पनि यही हो । तर, बैंकिङ क्षेत्रमार्फत मात्र कर्जा प्रवाह गरेर यसको उद्देश्य पूरा हुँदैन । यसलाई सहयोग गर्ने अन्य धेरै पक्षहरूको विकास आवश्यक छ ।

२ करोड, १ करोड, ८० लाखसम्मको कर्जा लिने ग्राहकका लागि धेरै किसिमका आधार तय गरिएका हुन्छन् । एकाउन्टिङ, मार्केटिङ, करसँग सम्बन्धित धेरै विषय हुन्छन् । यस क्षेत्रमा राज्यले ध्यान दिएर काम गरे र प्रोत्साहन गर्‍यो भने कर दरलाई घटाउन किन सकिन्न ? यदि सामान्य कर २५ प्रतिशत छ भने यो क्षेत्र प्रोत्साहन गर्न २० प्रतिशतमा ल्याउन सकिन्छ ।

त्यसैले, राज्य तथा सरकारले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ । यी त केही उदाहरण मात्र हुन् । यस क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकास, स्टार्टअपतर्फ प्रोत्साहन हुने नीतिहरू अपनाएर युवा पुस्तालाई यो क्षेत्रमा प्रवेश गराउन सक्नुपर्छ ।

विगत केही वर्षयता लगानीकर्तालाई निराश बनाएका बैंकहरूले यस वर्ष केही सान्त्वना दिने हो कि भन्ने चासो पनि छ । हालसम्मको रिकभरीको स्थिति हेर्दा नबिल बैंकमा कस्तो किसिमको अपेक्षा गर्न सकिन्छ ?

लगानीकर्तालाई ठ्याक्कै यति नै हो भनेर भन्न सकिने अवस्था छैन । यो आर्थिक वर्ष सकिनका लागि अझै केही दिन बाँकी नै छन् । तर सुधारको कुरा गर्दा ठूलो परिवर्तन देखिँदैन । बुक क्लोजहरू हेर्नै बाँकी छन् । यसमा पनि नियामकीय सहजता आएकाले हामीलाई केही सहज भएको छ ।

अब आगामी दिनमा क्लोज गर्दा कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ । हामी सबै बैंकका साथीहरू, शाखाहरू मिहिनेत गरेर लागिपरेका छौं । बैंकको रिपोर्ट राम्रो होस् भन्ने चाहना नबिल बैंक मात्र होइन, सम्पूर्ण बैंकिङ क्षेत्रले लिएको हो ।

डिजिटल र अटोमेसनको यात्रामा अगाडि बढ्दै गर्दा तपाईंहरूले कस्ता किसिमका साइबर सुरक्षा चुनौती र फ्रडहरूको सामना गर्नुपरेको छ ?

डिजिटल बैंकिङ र प्रविधिले फड्को मारेसँगै आजका दिनमा धेरै काम मोबाइलमै गर्न मिल्ने भएको छ । खाता खोल्नेदेखि अन्य धेरै सेवा अब अनलाइनबाटै उपलब्ध छन् । कारोबार पनि सकेसम्म शाखामा नआइकनै हुने भएको छ ।

चुनौतीको कुरा गर्दा, बैंकको आन्तरिक सुरक्षा महत्त्वपूर्ण विषय हो । बैंकले कस्तो प्रकारको मनिटरिङ प्रणाली राखेको छ, २४ सै घण्टा निगरानी गर्ने प्रणाली छ वा छैन, शंकास्पद कारोबार आयो भने सिस्टमले थाहा पाउँछ वा पाउँदैन, त्यसको रिभ्यू र सुधार भोलिपल्टै गर्न सकिन्छ कि सकिँदैन ? यी सबै कुरा महत्त्वपूर्ण छन् ।

त्यस्तै, हामी ग्राहक सचेतनामा पनि काम गरिरहेका छौं, तर यो अझै पर्याप्त छैन । सामाजिक सञ्जाल, इमेल फिसिङ र फेक पोर्टलहरूमार्फत हुने फ्रडका घटना भइरहेका छन् । यी चुनौतीहरू बैंकहरूले आन्तरिक र बाह्य दुवै रूपमा सामना गरिरहेका छन् ।

फ्रड र साइबर ठगीका कुरा गर्दा प्रतिष्ठित र उच्च व्यावसायिक व्यक्ति पनि यसमा फसेको देखिन्छ । यो लापरवाही हो कि अरू केही ?

बजारमा शिक्षित र सचेत मानिएका मानिसहरू नै ठगीमा परेको कुरा हामीले सुन्दै आएका छौं । यो एक किसिमको लापरवाहीको कारण पनि हुन सक्छ । जनचेतना कम भएर पनि हुन सक्छ ।

ठगी गर्ने उद्देश्यले पठाइएका लिंकहरू धेरै आकर्षक ढंगले प्रस्तुत गरिन्छन्, जसले क्लिक गर्न मन लाग्छ । तर, जब हामीलाई सहजै बढी फाइदा हुने कुरा देखिन्छ, त्यस्ता कुरामा अझ बढी सतर्कता अपनाउनुपर्छ ।

डिजिटल बैंकिङ प्रयोग गरेका तथा यसमा प्रवेश गरेका नयाँ ग्राहकलाई सचेत बनाउनु र सुरक्षाका उपाय सिकाउनु बैंकहरूको पनि दायित्व हो । तपाईंहरूले यसमा कसरी काम गर्नुभएको छ ?

डिजिटल बैंकिङ कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन सचेतना फैलाउने, जानकारी दिने र सिकाउने काम राष्ट्र बैंक, वाणिज्य बैंकहरू तथा सरकारको पनि साझा जिम्मेवारी हो । केन्द्रीय बैंकले सामाजिक सञ्जाल र वेबसाइटमार्फत जनचेतनामूलक सामग्री राखेको पाइन्छ भने हामीले पनि भौतिक रूपमा उपस्थित भई विभिन्न कार्यक्रम गर्दै आएका छौं ।

विभिन्न सेमिनार आयोजना गर्ने, सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने कार्य निरन्तर भइरहेको छ । कस्ता प्रकारका फ्रडहरू भइरहेका छन्, ठगीका नयाँ तरिका के–के छन् भन्नेबारे जानकारी दिने काम पनि हामीले गरिरहेका छौं । अपराध गर्ने व्यक्ति प्रायः एक पाइला अगाडि हुन्छन् । त्यसैगरी, यस्ता अपराध पनि दिन–प्रतिदिन बढ्दै गएका छन् ।

डिजिटल बैंकिङ कारोबारमा आउने जोखिमलाई न्यूनीकरण गर्नका लागि तपाईंहरूले ग्राहकहरूलाई के–कस्ता सुझाव दिनुहुन्छ ? ग्राहकहरूले कस्ता सुरक्षा नीति अपनाउनुपर्छ ?

सामान्यतया, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्राप्त कुनै सन्देश, लिंक वा अफरहरूलाई रिप्लाई नगर्नु, क्लिक नगर्नु, वा कल ब्याक नगर्नु उपयुक्त हुन्छ । अहिले मोबाइलको युग भएकाले फेसबुक, ह्वाट्सएप जस्ता माध्यममा उपहार, लटरी, रोजगारी अफर गर्ने नाममा ठगी भइरहेका छन् ।

सुरुमा अलिकति पैसा दिएर विश्वास दिलाउने, पछि ठूलो रकम मागेर सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको छ । त्यसैले, यस्ता कुरामा ग्राहकहरूले विशेष ध्यान दिन आवश्यक छ ।

डिजिटल माध्यमबाट हुने यस्ता ठगी र फ्रडहरूलाई रोक्न तपाईंहरू स्वयं बैंक र अन्य सम्बन्धित अध्ययन अनुसन्धान निकायले के गर्नुपर्छ ?

हामी अपरेटरहरूले सुरुमा आफ्नै आन्तरिक प्रणालीहरू सुधार गर्नुपर्छ । विभिन्न स्क्रिनिङ प्रणाली, वार्निङ दिने प्रणाली तथा २४ घण्टै निगरानी गर्ने ढंगमा अगाडि बढ्नुपर्ने देखिन्छ । यसमा सबैले आ–आफ्नो ठाउँबाट सुरक्षा अपनाउन आवश्यक छ । कुनै पनि खाताको नियन्त्रण प्रयोगकर्तासँग नै हुन्छ ।

आधिकारिक रूपमा बैंक वा वित्तीय संस्थाले कहिल्यै ‘ओटीपी दिनुहोस्’ भनेर माग्दैन । कसैले ओटीपी माग्छ भने त्यसमा केही न केही गडबड भइरहेको हुन्छ भन्ने शंका गर्नुपर्छ । यस्तो शंका लाग्नेबित्तिकै सम्बन्धित बैंकलाई जानकारी गराउनु आवश्यक छ । हरेक कुरामा शंका गरेर हेर्ने बानी बसाल्न सके यस्ता अपराधहरू धेरै हदसम्म नियन्त्रणमा ल्याउन सकिन्छ ।

नबिल बैंकले ४१ वर्षको गौरवमय यात्रा तय गरेको छ । यो चार दशकभन्दा बढीको यात्रा पूरा गर्दा हिजोको बैंकिङ प्रणाली र आजको बैंकिङ प्रणालीमा तपाईंले के भिन्नता पाउनुभएको छ ?

बैंकिङ भनेको सर्वसाधारणको पैसा लिएर त्यसलाई व्यवस्थापन गरी आम्दानी गर्ने संस्था हो । त्यसको आधारभूत पक्ष भनेकै सर्वसाधारणको पुँजी सुरक्षित राख्नु हो ।

हिजोका दिनमा कागजका ढड्डाबाट सुरु भएको बैंकिङ प्रणाली आज डिजिटल युगमा आइपुगेको छ, जससँगै सुरक्षा चुनौतीहरू पनि थपिएका छन् । तर, हामी जति डिजिटलाइजेसनको बाटोमा अघि बढ्दै गएका छौं, त्यत्तिकै बैंकमा काम गर्ने कर्मचारीहरूको क्षमता, दक्षता र कार्यशैलीमा पनि सुधार आएको छ ।

ग्राहकले लिने सेवा र सुविधा समेत सहज र सुलभ भएका छन् । नबिल बैंकको कुरा गर्ने हो भने पाँच वर्षअघि हामी सर्वसाधारणसम्म जुन स्तरमा पुगेका थियौं, अहिले त्यसमा व्यापक रूपले वृद्धि भएको छ । हामी अझ धेरै सर्वसाधारणको पहुँचमा पुग्न सफल भएका छौं ।

बैंकिङलाई सामाजिक सेवाको रूपमा पनि लिइन्छ । यो ४१ वर्षको अवधिमा नबिल बैंकले समाजका लागि के ग¥यो ? नागरिकलाई के दियो ? यी कुरालाई तपाईं कसरी सम्झनुहुन्छ ?

समग्रमा हेर्दा, नबिल बैंकले मुलुकको हरेक क्षेत्रमा योगदान पुर्‍याएको छ — चाहे त्यो करमार्फत होस्, रोजगारी सिर्जना, उद्यमशीलतामा टेवा दिएर होस्, वा सर्वसाधारणमा बचत गर्ने बानी बसालेर होस् । नबिल बैंकले सर्वसाधारणको जीवन सहज बनाउन, उद्यमशीलता प्रवद्र्धन गर्न, सरकारको पूर्वाधार विकासमा, जलविद्युत् क्षेत्रमा लगायत थुप्रै क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ ।

सीएसआरका रूपमा पनि, अस्पताल, बाढीपीडित सहयोग तथा अन्य सामाजिक कार्यमा बैंकको भूमिका उल्लेखनीय रहँदै आएको छ । नबिल बैंक पहिलो कम्प्युटराइज्ड बैंकिङ प्रणालीदेखि लिएर डिजिटल बैंकिङ र निजी क्षेत्रको पहिलो डिजिटलाइज्ड पहिचान स्थापित गर्ने बैंकका रूपमा अगाडि आएको छ । आज ग्राहकले आफ्नो सबैजसो बैंकिङ सेवा घरमै बसेर, मोबाइलमार्फत प्राप्त गर्न सक्छन् । एनबैंक, भर्चुअल बैंक जस्ता माध्यमबाट डिजिटलाइजेसनमा हामीले अग्रणी भूमिका खेलेका छौं ।

त्यस्तै, सीएसआरको कामसँगै उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा पनि नबिल बैंकले उल्लेखनीय काम गर्दै आएको छ । ‘नबिल प्लस सोशल इन्टरप्राइज’ सुरु गरेर हामीले मानिसहरूलाई उद्यमशीलताको बाटो देखाउन चार वर्षदेखि निरन्तर प्रयास गर्दै आएका छौं । हामी चाहन्छौं, नबिलले थालेको यो काम अन्य बैंक तथा क्षेत्रहरूले पनि अनुसरण गरून् । आज नबिल बैंक सबैभन्दा उत्कृष्ट वाणिज्य बैंकका रूपमा स्थापित भएको छ । बैंकमा लगानी गर्ने व्यक्तिहरू पनि लाभदायक स्थितिमा पुगेका छन् ।