
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीति अपेक्षा गरे अनुसार नआएको प्रतिक्रिया दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अपेक्षा गरे अनुसार नआएको प्रतिक्रिया दिएको हो ।
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रले दिएका सुझाव गम्भीर रूपमा नलिएको र सम्बोधन नगरेको गुनासो समेत नाडाको छ । सुधार गरिनुपर्ने अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विद्यमान नीतिलाई अहिले पनि यथावतै राखिएको समेत नाडाले जनाएको छ ।
गर्भनर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीति अटोमोबाइल व्यवसायीले अपेक्षा गरेभन्दा धेरै टाढा भएको नाडाको तर्क छ ।
‘हाम्रो विश्वास छ कि विद्युतीय इकोसिस्टम प्रवर्द्धन, रोजगारी सिर्जना र देशको औद्योगिकीकरणमा अटोमोबाइल क्षेत्रको योगदानलाई पहिचान गर्दै यस क्षेत्रको वृद्धिका लागि स्पष्ट नीति र सहयोग अपरिहार्य छ,’ नाडाले भनेको छ, ‘यस सन्दर्भमा अटोमोबाइल क्षेत्रको आर्थिक महत्त्वलाई गम्भीरतापूर्वक स्वीकार गरी नीतिगत सहजीकरणका लागि तत्काल कदम चाल्न सरकारसँग जोडदार माग गर्दछौं ।’
सवारीसाधन आयातका सन्दर्भमा कुनै सहजीकरणको व्यवस्था नगरिएको, लक्जरी, हेभी सेग्मेन्ट र उच्च प्रविधिका सवारीसाधनमा पुरानै नीति कायम राखिएको समेत नाडाको गुनासो छ ।
‘अघिल्ला वर्षहरूमा जस्तै विद्युतीय सवारीसाधनका लागि भन्सार तथा कर छुट कायम राखिएको भए पनि अन्य महत्त्वपूर्ण क्षेत्रहरू सवारी ऋण, आयात प्रक्रिया र औद्योगिक मान्यतामा कुनै उल्लेखनीय सुधार गरिएको छैन,’ नाडाले भनेको छ ।










प्रतिक्रिया