मौद्रिक नीतिले अटो उद्योगका माग सम्बोधन नगर्नु निराशाजनकः नाइमा


काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिप्रति असन्तुष्टि जनाएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिमा समेटिएका सुझाव समावेश नगरिएकोप्रति नाइमाले असन्तुष्टि व्यक्त गरेको हो ।

अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि प्रस्तुत गरिएका सुझाव समावेश नभएको र त्यसले क्षेत्रको भविष्यप्रति निराशा उत्पन्न गराएको नाइमा अध्यक्ष रितुसिंह वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि हामीले विशेषतः कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको माग अनुसार पुनरावलोकन गरिदिन अनुरोध गरेका थियौं, जसमा सबै प्रकारका सवारीका लागि ८० प्रतिशत–२० प्रतिशत कर्जा अनुपात कायम गरिनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको थियो,’ नाइमाले भनेको छ , ‘तर, मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि यस्तो कुनै नीति समावेश नगरिनु अत्यन्त निराशाजनक विषय हो । यो नीतिले समग्र रूपमा कर्जा आपूर्तिमा वृद्धि गर्ने उद्देश्य राखे पनि अटो कर्जाको पहुँच विस्तारका लागि कुनै स्पष्ट र लक्षित उपाय समावेश गरेको छैन, जुन अटोमोबाइल बजारको सुधारका लागि आवश्यक थियो ।’

नाइमाले अन्य क्षेत्रहरू–जस्तै रियल स्टेट, सेयर बजार, र अन्य उद्योगहरूका लागि नीति स्पष्ट रूपमा समावेश गरिए पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरिएको देखिएको जनाएको छ ।

यसैगरी चिनमा उत्पादन भएका सवारीसाधनहरू आयात गर्दा युआनमा प्रतीत पत्र खोल्न चीनमै उत्पादन भई चीनबाट ढुवानी हुने अवस्थामा लाभग्राही कम्पनी जुनसुकै देशको भए पनि अनुमति दिनुपर्ने सुझाव मौद्रिक नीति निर्माणको प्रारम्भिक चरणमै पेस गरिएको पनि नाइमाले उल्लेख गरेको छ ।

‘आजको अन्तर्राष्ट्रिय व्यापार संरचना त्रिपक्षीय सहमतिमा आधारित रहेको सन्दर्भमा यस्तो व्यवस्था आजको टड्कारो आवस्यकता हो, तर मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका यस्ता व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको देखिन्छ,’ नाइमाले भनेको छ, ‘त्यसैगरी, सवारी कर्जालाई सुरक्षित कर्जा मानिने सन्दर्भमा जोखिम भारित सम्पत्तिको दर हालको १०० प्रतिशत बाट घटाएर ७५ प्रतिशत कायम गर्न सुझाएको थियो । यस्तो प्रावधानले कर्जा प्रवाहलाई सहज बनाउने र बजार विस्तारमा टेवा पुऱ्याउने विश्वास नाइमाको थियो ।