
काठमाडौ । स्पेसएक्स र टेस्लाजस्ता नवप्रवर्तनशील कम्पनीका संस्थापक एलन मस्क आफ्नो प्राविधिक उपलब्धिहरूका लागि जति चर्चित छन्, उतिकै आफ्नो विवादास्पद व्यवहार र अभिव्यक्तिका कारण विवादको केन्द्रमा पनि रहँदै आएका छन् ।
उनीमाथि यौन दुर्व्यवहार को आरोपदेखि अमेरिकी राष्ट्रपति ट्रम्पसँगको राजनीतिक झगडासम्मका धेरै विषयहरूले चर्चा बटुलेका छन् । मस्कसँग जोडिएका पाँच प्रमुख विवादहरू यस्ता छन् ।
१. ट्रम्पसँगको झगडा : एक समयको मित्रता, पछि आरोप–प्रत्यारोप
सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा मस्कले डोनाल्ड ट्रम्पको जितका लागि २५० देखि ३०० मिलियन डलरसम्म खर्च गरेका थिए । त्यसपछि ट्रम्पले मस्कलाई ‘सरकारी दक्षता विभाग (डग)’ को प्रमुख नियुक्त गरे । सुरुवातमा दुबैबीच निकटता देखिएको भएपनि, २०२५ जुन ५ मा ट्रम्पको ‘वन बिग ब्यूटीफुल बिल’ नामक नीति मस्कले सार्वजनिक रूपमै गलत भएको टिप्पणी गरेपछि उनीहरूबीच टकराव सुरु भयो ।
यो विधेयकले अमेरिकी ऋण २.४ ट्रिलियन डलरले बढाउने अनुमान गरिएको थियो । ट्रम्पले मस्कलाई इभी गाडी अनुदान कटौतीको कारण रिसाएको बताए । मस्कले जवाफमा भने,’ट्रम्प म बिना चुनाव जित्दैनथे ।’
दुबैले एकअर्कालाई आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममार्फत तिखो व्यंग्य गरे । मस्कले ट्रम्पको नाम ‘जेफ्री एपस्टीन फाइल’ मा रहेको दाबी गरे भने ट्रम्पले सरकारी ठेक्का रद्द गर्ने चेतावनी दिएका थिए । यद्यपि केही समयपछि विवाद थामिएको देखियो ।
२. नाजी सैल्यूट प्रकरण : अन्तर्राष्ट्रिय आलोचना
सन् २०२५ जनवरी २० मा ट्रम्पद्वारा आयोजित वाशिंगटन इभेन्टमा मस्कले हात उठाउँदै अभिवादन गरे, जुन दृश्य धेरैले नाजी सैल्यूटको रूपमा बुझे । यो व्यवहार जर्मनीलगायत देशहरूमा गैरकानुनी मानिन्छ ।
घटनाको भिडियो भाइरल भएपछि जर्मन पत्रकारहरूले आलोचना गरे । मस्कले भने यो ‘सामान्य अभिवादन’ मात्र भएको र त्यसलाई अनावश्यक रुपमा राजनीतिक बनाइएको बताए ।
३. यौन दुव्र्यवहारको आरोप : स्पेसएक्स फ्लाइट अटेन्डेन्टको गुनासो
सन् २०२२ मा स्पेसएक्सकी एक फ्लाइट अटेन्डेन्टले मस्कमाथि यौन दुव्र्यवहारको आरोप लगाइन् । आरोप अनुसार सन् २०१६ को घटनालाई दबाउन स्पेसएक्सले उनलाई २,५०,००० डलर दिएको बताइएको थियो ।
मस्कले यो आरोपलाई ‘राजनीतिक प्रेरित आक्रमण’ भन्दै खारेज गरे । उनले भने,’३० वर्षको करिअरमा यदि म यस्तो व्यक्ति हुँ भने यति ढिलो किन उजुरी ?’ उनले आरोप आफ्नो रिपब्लिकन समर्थनको घोषणापछि आएको दाबी गरे ।
४. गाजा र व्हिस्की प्रकरण : सार्वजनिक व्यवहारको आलोचना
सन् २०१८ को सेप्टेम्बर ६ मा मस्कले ‘जो रोगन एक्सपीरियन्स’ नामक पोडकास्टमा गाजा सेवन गरे र व्हिस्की पनि पिए । उक्त कार्यक्रम युट्युबमा लाइभ स्ट्रीम गरिएको थियो । मस्कले एकपटक गाजाको कश लिएका थिए ।
भोलिपल्ट टेस्लाको सेयर ९–१०% ले घट्यो । लगानीकर्ताले सार्वजनिक रुपमा यस्तो व्यवहारलाई ‘अव्यवसायिक’ भने । पछि मस्कले नासाका प्रमुखसँग छलफल गरी भविष्यमा यस्तो व्यवहार नगर्ने आश्वासन दिए, यद्यपि उनले औपचारिक माफी मागेका थिएनन् ।
५. एम्बर हर्डसँगको सम्बन्ध र जॉनी डेपसँगको विवाद
हलिउड अभिनेत्री एम्बर हर्ड र मस्कको सम्बन्ध २०१६ मा सुरु भएको थियो । जॉनी डेपसँगको सम्बन्ध तोडिन नपाउँदै मस्कसँगको सम्बन्ध सुरु भएको दाबी अदालतमा प्रस्तुत गरिएको थियो ।
डेपले मस्कमाथि उनको वैवाहिक सम्बन्ध तोड्न भूमिका रहेको आरोप लगाए । मस्कले भने, ‘हामी सम्बन्धमा तब थियौं जब हर्डको डिभोर्स कानुनी रुपमा पूरा भइसकेको थियो ।’
यस सम्बन्धले मिडिया र सामाजिक सञ्जालमा व्यापक चर्चा पायो । केहीले मस्कलाई ‘हर्डको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने’ भने ।
मस्कको जीवन संघर्ष र सफलता : एक असाधारण यात्राको कथा
विश्व चर्चित प्रविधि उद्यमी एलन मस्क आज ५४ वर्ष पुगेका छन्। टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको जीवन अनेक संघर्ष, मानसिक पीडा र क्रान्तिकारी आविष्कारको समिश्रण हो। आजको दिनमा, उनी नवीकरणीय ऊर्जा र अन्तरिक्ष यात्रामा क्रान्ति ल्याउने व्यक्तिका रूपमा चिनिन्छन्, तर यसको पछाडि रहेका कथाहरू निकै पीडादायी छन्।
मानसिक पीडा : बाल्यकालदेखि नै संघर्ष
मस्कको बाल्यकाल दक्षिण अफ्रिकाको हिंसात्मक वातावरणमा बित्यो। १२ वर्षको उमेरमा उनी एक जंगलको ‘सर्भाइभल क्याम्प’मा सहभागी भएका थिए, जहाँ दैनिक खानाको अभाव, बल प्रयोग र अन्य बालबालिकासँग झगडा गर्नुपर्थ्यो। यस क्रममा मस्कलाई दुईपटक कुटपिट गरिएको थियो।
उनी भन्छन्, ‘त्यो अनुभव एकदमै पागलपनपूर्ण र मानसिक रूपमा हल्लाउने खालको थियो।’
त्यसपछि उनी फेरि १६ वर्षको उमेरमा उही क्याम्प फर्किए, जहाँ उनको शारीरिक बनावट बलियो भइसकेको थियो। उनले जूडो सिकेका थिए र अब आफूलाई कसैले कुट्न नसक्ने भन्ने आत्मविश्वास पनि ल्याएका थिए।
पिताको मानसिक यातना : भावनात्मक घाउ अझै गहिरो
मस्कका लागि सबैभन्दा ठूलो पीडा भने आफ्नै बुबा इरॉल मस्कबाट भएको मानसिक यातना थियो। स्कूलमा साथीहरूले निर्घात कुटपिट गरेपछि मस्कलाई अस्पताल भर्ना गर्नुपरेको थियो। तर घर फर्किएपछि उनका बुबाले उल्टै दोष इलनमाथि थोपरे।
मस्क सम्झन्छन्, ‘मलाई घण्टौं उभ्याएर कराउँदै भन्नुहुन्थ्यो– तिमी एकदमै निकम्मा छौं।’
इरॉल मस्कको कडाइले एलनको आत्मविश्वास चूर्ण हुन्थ्यो। यही कारणले मस्कको स्वभाव चिसो र कडा बन्न पुग्यो। तर उनी भन्छन्, ‘पिताबाट मैले फिजिक्स, इन्जिनियरिङ र कन्स्ट्रक्सनको आधार सिकें, जुन पैसाभन्दा कीमती थियो।’
डिप्रेशन र टेन्सन : ‘हार्ट अट्याक हुने जस्तो लाग्थ्यो’
सन् २००८ मा टेस्ला र स्पेसएक्स आर्थिक संकटमा थिए। मस्कले आफ्ना ग्राहकहरूको बुकिङ पैसा कार बनाउनमा प्रयोग गरिसकेका थिए, तर कार बनेको थिएन। स्पेसएक्सको रकेट अझै सफल भएको थिएन। मस्कका प्रेमिका तालुलाह रिले भन्छिन्, ‘’उनी हात फैलाएर चिच्याउँथे, निद्रामा पनि बर्बराउँथे। कहिलेकाहीं लाग्थ्यो कि उनी हृदयघातमा परेझैं हुन्छन्।’
तर उनी थाकेनन्। साथी पीटर थिएलबाट २ करोड डलरको लगानी पाएपछि स्पेसएक्सको चौथो परीक्षण सफल भयो। यसपछि टेस्ला पनि बचाउन सफल भए।
क्रोध र कठोर निर्णय : रोबोट बिग्रँदा इन्जिनियरलाई निकालिदिए
सन् २०१८ मा मस्क उत्पादन लाइनमा रोबोटिक आर्म बिग्रिएको देखे। एक इन्जिनियरले समस्या बुझ्ने प्रयास गरे, तर मस्कले उनलाई ‘इडियट’ भन्दै कार्यालयबाट निकालिदिए।
टेस्लाका पूर्व प्रेसिडेन्ट जॉन म्याकनिल भन्छन्, ‘एलन जब झोकमा आउँछन्, उनी जूनियर स्टाफमाथि रिस पोख्छन्।’
आविष्कारको युग : टेस्लादेखि स्पेसएक्ससम्म
मस्कले २००३ मा टेस्ला स्थापना गरे। यो कम्पनीले इलेक्ट्रिक गाडी, ब्याट्री, सोलार प्यानल र ऊर्जा भण्डारण प्रविधिमा क्रान्ति ल्याएको छ। टेस्लाको बजार मूल्य ५० लाख करोड रुपैयाँ पुगेको छ। अब टेस्ला गाडी भारतमा पनि ल्याउने तयारी भइरहेको छ।
यसपछि २००२ मा स्पेसएक्स स्थापना भयो। २००८ मा फाल्कन १ को सफल प्रक्षेपणले कम्पनीलाई जोगायो। त्यसपछि फाल्कन ९ नामक पुनःप्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक ल्यान्ड भयो। अब मस्क ‘स्टारशिप’ रकेटमार्फत मानव बस्ती मंगलमा बसाल्ने सपना देखिरहेका छन्।
संघर्षबाट सफलता
आज ५४ वर्षमा प्रवेश गरेका इलन मस्कको जीवन कडा संघर्ष, कठोर प्रशिक्षण, मानसिक पीडा र अथक परिश्रमको प्रतिफल हो। उनी भन्छन्, ‘मैले इलेक्ट्रिक कार बनाएँ, र मानिसलाई मंगल ग्रह पठाइरहेछु। के तपाईंलाई लाग्थ्यो म यी सबका बीचमा शान्त र सामान्य व्यक्ति बन्नेछु ?’
यस भनाइले मस्कको जटिल व्यक्तित्वको सही चित्र दिन्छ। विश्व उनलाई क्रान्तिकारी वैज्ञानिक र उद्योगपति भन्छ, तर उनी आफैं भन्छन्, ‘डर, पीडा र पागलपनले नै मलाई निर्माण गर्यो।’










प्रतिक्रिया