बैंकिङ कसुर र सम्पत्ती शुद्धीकरणमा अनुसन्धान गरे पनि सम्पत्ति शुद्धिकरणमा प्रमाण नभेटेको भन्दै बैंकिङ कसुरमा २७ करोडभन्दा माथिको विगो मागदाबी गर्नुपर्ने रायसहितको प्रतिवेदन पठाएको थियो ।

काठमाडौं । दुर्गा प्रसाईं विरुद्ध बैकिङ कसुरमा थप अनुसन्धान गर्नुपर्ने भन्दै विशेष सरकारी वकिल कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धान प्रतिवेदन फिर्ता पठाएको छ । बैंकिङ कसुरमा मुद्दा चलाउनुपर्ने राय सहित प्रहरीको सीआईबीले जेठ दोस्रो साता अनुसन्धा प्रतिवेदन विशेष सरकारी वकिलको कार्यलयमा पठाएको थियो ।
सीआईबीले बैंकिङ कसुरका साथै सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरेको भएपनि सम्पत्ति शुद्धीकरणमा कुनै प्रमाण नभेटिएकाले बैंकिङ कसुरमा मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन पठाएको थियो । उक्त प्रतिवेदनमाथि अध्ययन गर्दा थप अनुसन्धान गर्नुपर्ने देखिएकोले बिहीबार सरकारी वकिलले सीआईबीलाई थप अनुसन्धान गर्न निर्देशनसहित फिर्ता पठाएको विशेष सरकारी वकिलको कार्यालयका सूचना अधिकारी एवं सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले बताइन् ।
सीआईबीका प्रवक्ता प्रहरी उपरिक्षक युवराज खड्काले पनि विशेष सरकारी वकिलको कार्यालयबाट थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता पाएको बताए । सरकारी वकिलको कार्यालयका निर्देशनअनुसार थप अनुसन्धान गरी प्रतिवेदन पठाउने उनले बताए । सीआईबीले जेठ दोस्रो साता २७ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी सहित बैकिङ कसुरमा मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।
प्रसाईंविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुद्धीकरण ऐन २०६४ अनुसार सीआईबीले अनुसन्धान गरेको थियो । बैंकिङ कसुरमा अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेपछि सीआईबीले अनुसन्धान थालेको थियो । राष्ट्र बैंकले आफूले आन्तरिक अनुसन्धान सकेर थप अनुसन्धानका लागि माघ २३ गते सीआईबीलाई पत्राचार गरेको थियो ।
सीआईबीले उनीमाथि विभिन्न ११ विषयमा अनुसन्धान अगाडि बढाएको थियो । प्रसाईं र उनको परिवार सम्बद्ध फर्म र कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम अपचलन भएको अनुसन्धानमा पाइएको छ ।
यस्तै विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको, प्रसाईं र उनी सम्बद्ध कम्पनीहरुले बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा उल्लेख गरेको प्रयोजनभन्दा अन्यत्र कर्जाको रकम उपयोग गरी कर्जा दुरुपयोग गरेको अनुसन्धानले देखाएको सीआईबीले जनाएको छ ।
बैंकबाट लिएको कर्जा व्यवसायमा मात्र प्रयोग गर्नुपर्ने र व्यवसायको आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नु पर्नेमा ठूलो रकम पेश्कीको रुपमा प्रसाईं र उनी सम्बद्ध कम्पनीहरुलाई प्रदान गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
यस्तै परियोजनाको लागत वृद्धि गरी परियोजनालाई आवश्यक पर्नेभन्दा बढी कर्जा उपयोग गरेको, ऋणी फर्म, कम्पनीको अन्तिम लाभग्राही प्रसाईं रहेको अनुसन्धानबाट खुलेको छ ।
विगत चार वर्षदेखि बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च प्रालिले बक्यौताको साँवा व्याज भुक्तानी नियमित गरेको छैन ।
प्रसाईंले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ८ मा रहेको कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्थाको उल्लंघन गरेको पाइएको छ । प्रसाईं र उनका परिवार तथा उनीहरु सम्बद्ध फर्म र कम्पनीका विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाताहरुमा राउन्ड ट्रिपिङ, रिलेटेड पार्टी ट्रान्जेक्सन लगायतका शंकास्पद कारोबारहरु भएको देखिएको प्रहरीले उल्लेख गरेको छ ।
अनुसन्धानको क्रममा तत्कालीन एनसीसी बैंक (हालको कुमारी बैंक) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा प्रवाह भएको १२ करोड ५० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकबाट होटल एट्रिएम प्रालीको नाममा प्रवाह भएको ५ करोड रुपैयाँ र गुडविल फाइनान्सबाट यू ए मेडिको सप्लाइज एन्ड इक्विपमेन्ट प्रालीको नाममा प्रवाह भएको १० करोड रुपैयाँ कर्जा प्रसाईंले दुरुपयोग गरेको पाइएको छ ।
प्रसाईंले सम्पतिको स्रोत लुकाउन विभिन्न तहको जटिल कारोबार मार्फत राउन्ड ट्रिपिङ, रिलेटेड पार्टी ट्रान्जेक्सन लगायतका शंकास्पद कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ ।
बैंकहरुले प्रसार्ईको झापामा निमार्णाधीन होटल, झापाकै बी एण्ड सी मेडिकल कलेज र झापाकै पूर्वाञ्चल क्यान्सर अस्पतालमा करिब ७ अर्ब रुपैयाँ लगानी गरेका छन् । पछिल्लो पटक बैंकहरुले २०८१ असारमा अदालतको आदेशअनुसार नियामकीय व्यवस्था पूरा गरी ब्याज पुँजीकरण गरे पनि त्यसपछि प्रसाईंका ३ वटै परियोजनाको ब्याज भुक्तानी भएको छैन ।










प्रतिक्रिया