
काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको सेयर बिक्री गर्ने भएको छ ।
हिमालयन र सिभिल बैंक मर्जरलगत्तै बैंकको सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाए पनि राष्ट्र बैंकले सहमति नदिँदा रोकिएको थियो ।
शुक्रबार हिमालयन बैंकले बैंकमा रहेको संस्थापक सेयरधनी हबिब बैंकले सेयर बिक्री गर्न लागेको भन्दै इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ ।
हबिबले हिमालयन बैंकमा रहेको कुल २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर प्रतिकित्ता ११२.८० रुपैयाँको दरले एकमुष्ट बिक्रीको लागि निवेदन दिएको बैंकले जनाएको छ ।
सोही निवेदनको आधारमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं १० बमोजिम बैंकको हाल कायम सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरिएको छ ।
बैंकले उक्त सेयर एकमुष्ट बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । सोही आधारमा २ करोड ८० लाख कित्ता सेयर नै खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले मात्रै आवेदन दिनुपर्ने देखिन्छ । बैंकका बहालवाला लगानीकर्ताले सूचना प्रकाशिन भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।
उक्त मितिभित्र संस्थापक सेयरधनीले सेयर खरिदको लागि आवेदन नदिएमा अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।
बैंकमा पाकिस्तानको हबिबको १२.९३ प्रतिशत सेयर हिस्सा छ । हिमालयन बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीले उक्त सेयर खरिद गर्ने सहमतिसहित राष्ट्र बैंकमा डेढ वर्षअघि नै आवेदन दिएको भए पनि राष्ट्र बैंकले त्यतिबेला सहमति नदिँदा सेयर कारोबार रोकिएको थियो ।
२०८० मंसिरमा नै पाकिस्तानको हबिब बैंक र हिमालयन रि इन्स्यारेन्सबीच सेयर खरिदबिक्रीको सम्झौता भएको थियो ।
हिमालयन बैंक र हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समितिले उक्त सम्झौतालाई स्वीकृत दिँदै कारोबार लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको थियो ।
नेपाल राष्ट्र बैंकले ३ वटा कारणसहित त्यतिबेला उक्त सेयर कारोबारको लागि सहमति दिएको थिएन । सेयर खरिद गर्ने हिमालयन रि इन्स्योरेन्सको लगानी सन्दर्भमा ‘फिट एण्ड प्रोपर टेस्ट’को लागि आवश्यक विवरण माग गरेको थियो । त्यस्तै राष्ट्र बैंकको प्राथमिकता विदेशी कुनै लगानीकर्ता उक्त सेयर खरिद गर्न इन्छुक भएसँगै विदेशी लगानीलाई नै प्राथमिकतामा राख्ने भन्ने रहेकोले त्यसलाई पनि ध्यान दिन बैंकलाई राष्ट्र बैंकले त्यतिबेला आग्रह गरेको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै सिभिल बैंकसँग मर्जरमा गएको २ वर्ष पूरा नहुँदा बहालवाला सेयरधनीले सेयर बिक्री गर्दा लाग्ने ठूलो पूँजीगत लाभकर गुम्ने परिस्थितिले गर्दा पनि त्यतिबेला राष्ट्र बैंकले स्वीकीकृति नदिइ रोकेको थियो । २ बैंक मर्जर भएको २ वर्ष पूरा भइसकेको हुँदा अब सेयर कारोबार भएमा कर छुटको विषयमा कुनै समस्या देखिँदैन ।
राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकारी डेढ वर्ष अगाडि सेयर कारोबारको लागि निवेदन आएकोमा केही प्रक्रिया कारण राष्ट्र बैंकले रोकेको र अहिले कुनै जानकारी नआएको बताउँछन् । बैंकले प्रक्रिया पूरा गरेर राष्ट्र बैंकमा निवेदन दिएपछि राष्ट्र बैंकले अध्ययन गरेर मात्रै निर्णय दिने ति अधिकारीले बताए ।
अहिले पनि हिमालयन रि इन्स्योरेन्सले नै सेयर किन्नको लागि भन्दै सहमति भएको बैंक स्रोतको दाबी छ । त्यसअघि ऐनको व्यवस्था अनुसार बहालवाला संस्थापकले सेयर खरिदका लागि अवसर पाउने भएकोले सोही प्रक्रिया पूरा गर्न ३५ दिनको सूचना प्रकाशित गरेको बैंक स्रोतले बतायो ।
बहालवाला संस्थापक सेयर खरिद गर्न तयार नभएमा ३५ दिन पूरा भएपछि अर्को सूचना प्रकाशित हुने सोही सूचना अनुसार हिमालयन रिले सेयर खरिदको लागि आवेदन दिएर प्रक्रिया अगाडि बढ्नेछ । त्यसअघि हिमालयन रि इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणको पनि स्वीकृति लिनुपर्ने देखिन्छ ।
२०८१ चैत मसान्तमा हिमालयन रि इन्स्योरेन्सको कुल लगानी १८ अर्ब ५८ करोड ३४ लाख पुगेको छ । पुनर्बिमकको लगानी निर्देशनमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सेयरमा कूल लगानीको बढीमा १० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था छ । हिमालयन रिले यसअघि नै सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सेयरमा २ अर्ब ३६ करोड १० लाख रुपैयाँ लगानी गरिसकेको देखिन्छ । जुन लगानी निर्देनको व्यवस्थाभन्दा बढी हो ।
कम्पनीले प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसामा हिमालयन बैंकमा रहेको हबिबको सेयर खरिद गर्नुपर्दा ३ अर्ब १५ करोड ९९ लाख १७ हजार लगानी गर्नुपर्ने देखिन्छ । उक्त लगानीका लागि प्राधिकरणको सहमति आवश्यक पर्छ ।
प्रतिक्रिया