
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि भन्दै एक अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकले एक महिनाकाे समय तोकेर केही ‘टिओर’ सहित बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरेको हो ।
राष्ट्र बैंकको २१ जेठमा बसेको सञ्चालक समिति बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म समितिका संयोजक र सदस्यलाई चिठी भने दिएको छैन ।
राष्ट्र बैंककै पूर्व कर्मचारीसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा बैंकर भुवन दहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका छन् ।
अध्ययन समितिले गभर्नर डा. विश्व पौडेललाई एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश पाएकाे छ । बैंकिङ क्षेत्र सुधार गर्न उदार किसिमको बैंकिङ प्रणाली बनाउन समिति गठन गरिएको हो ।
नेपाल राष्ट्र बैंकले बाहिरबाट सुझावका लागि अध्ययन समिति गठन गरेको पहिलोपटक भएका राष्ट्र बैंककै बहालवाल र पूर्व अधिकारीहरु बताउँछन् । राष्ट्र बैंकभित्रै ‘रिसर्च र डेभलपमेन्ट’ को लागि उपयुक्त जनशक्ति र संरचना भएकोले यस्तो अध्ययन समिति गठन हुने गरेको थिएन ।
अध्ययन समितिले आागमी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाअघि नै प्रतिवेदन बुझाउनेछ । मौद्रिक नीतिभन्दा पनि नियामकीय नीतिमा आवश्यक सुधार र परिमार्जनको सुझावको लागि समिति गठन भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।
प्रतिक्रिया