अर्बपति बिल गेट्सले आफ्नो अधिकांश सम्पत्ति अफ्रिकाको हकहितमा खर्च गर्ने

0
Shares

एजेन्सी । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले आगामी २० वर्षमा आफ्नो अधिकांश सम्पत्ति अफ्रिकामा स्वास्थ्य र शिक्षा सेवामा सुधार गर्नका लागि खर्चिने बताएका छन् ।

बीबीसीमा प्रकाशित भएको सामग्रीमा उल्लेख भएअनुसार, ६९ वर्षीय गेट्सले भने, ‘स्वास्थ्य र शिक्षामार्फत मानव क्षमतालाई अभिवृद्धि गरेर अफ्रिकाको प्रत्येक देशलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि म योगदान गर्नेछु ।’

सोमवार इथियोपियाको राजधानी आदिस अबाबामा रहेको अफ्रिकी संघको केन्द्रीय कार्यालयमा मन्तव्य दिँदै गेट्सले अफ्रिकाका युवा नवप्रवर्तनकर्ताहरूलाई महादेशको स्वास्थ्य सेवा सुधार गर्न कृत्रिम बुद्धिमत्ता (एआई) निर्माणमा दिमाग लगाउन आग्रह गरे ।

गत महिना मात्रै गेट्सले आफ्नो विशाल सम्पत्तिको ९९ प्रतिशत दान दिने घोषणा गरेका थिए । त्यसबेलासम्म गेट्स फाउन्डेसनले आफ्ना सबै कार्य पूरा गरिसक्ने योजना बनाएको छ ।

‘मेरो सम्पत्ति आगामी २० वर्षभित्र दान दिइसक्ने भनी मैले हालसालै प्रतिबद्धता जनाएको छु,’ गेट्सले भने, ‘त्यसमध्येको अधिकांश रकम अफ्रिकाका समस्याहरू समाधान गर्न खर्चिनेछु ।’

मोजाम्बिककी पूर्व प्रथम महिला ग्रासा माचेलले गेट्सको घोषणालाई ‘संकटको घडीमा आएको सकारात्मक कदम’ भन्दै स्वागत गरिन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ‘पहिले अमेरिका’ नीतिका कारण अफ्रिकामा एचआईभी एड्स उपचार कार्यक्रम लगायतको सहायता कटौती गरिएको छ । यसले गर्दा उक्त महादेशको स्वास्थ्य सेवाको भविष्यका विषयमा चिन्ता उत्पन्न भएको छ ।

आफ्नो फाउन्डेसनले अफ्रिकामा लामो समयदेखि काम गर्दै आएको बताउँदै गेट्सले प्राथमिक स्वास्थ्य सेवा सुधारमा अब ध्यान केन्द्रित गरिने जानकारी दिए ।

गेट्स फाउन्डेसनले तीन प्रमुख विषयलाई प्राथमिकतामा राखेको बताएको छ: आमा र शिशुको मृत्युको सम्भावना घटाउने, नयाँ पुस्तालाई घातक संक्रामक रोगहरूको सिकार बन्नबाट जोगाउने र करोडौँ मानिसलाई गरिबीबाट माथि उठाउने ।

ब्लूमबर्ग सञ्चारमाध्यमका अनुसार, सम्पत्तिको ९९ प्रतिशत दान गरे पनि गेट्स संसारको पाँचौं धनी व्यक्तिको रूपमा अर्बपति रहिरहनेछन् ।

बिल गेट्सले सन १९७५ मा पल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए । त्यो छिट्टै सफ्टवेयर र प्रविधिको क्षेत्रमा प्रमुख कम्पनी बन्यो र गेट्सलाई अर्बपति बनायो ।

गेट्स पछिल्ला दशकहरूमा क्रमशः कम्पनीको जिम्मेवारीबाट पछि हट्दै आएका छन् । उनले सन् २००० मा प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका थिए भने २०१४ मा उनी अध्यक्ष पदबाट पनि हटेका थिए ।