धनगढीमा विषादी प्रयोग गरिएका अढाई हजार किलो तरकारी र आँप नष्ट

133
Shares


कैलाली । धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो हरियो तरकारी र आँप नष्ट गरेको छ ।

उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाद्वारा गरिएको संयुक्त अनुगमनमा अत्यधिक परिमाणमा विषादी प्रयोग गरिएका तरकारी र आँप पाइएपछि नष्ट गरिएको हो ।

उपमहानगरभित्र रहेका तीन वटा हाट ९फलफूल तथा तरकारी० बजारमा अनुगमन गर्दा विषादीको मात्रा अत्याधिक प्रयोग भएका अखाद्य तरकारी र आँप पाइएपछि नष्ट गरिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख महेश मल्लले जानकारी दिए ।

उनका अनुसार सहिद गेट कृषिउपज थोक बजार, दक्षिणकाली मार्ग सब्जी मन्डी र धनगढीको चौराहास्थित हाट बजारबाट तरकारी तथा फलफूलका नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो, गोलभेँडा, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको जनाउँदै मल्लले खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको बताए ।

परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले जानकारी दिए ।

उनका अनुसार संयुक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी तीन वटा हाट बजारबाट फलफूल तथा तरकारीका १८ वटा नमूना सङ्कलन गरिएको थियो ।