बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर महत्त्व दियो: चन्द्र ढकाल

966
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूहरुले प्रस्तुत गरेका धेरै सुझावहरू बजेटमा समावेश भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

बिहीबार आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

‘अहिलेको बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर महत्व दिएको छ । यसले अघिल्ला बजेटभन्दा फरक अनुभूति दिन सक्छ भन्ने आशा गरिएको छ,’ उनले भने ।

महासंघको तर्फबाट धेरै महत्त्वपूर्ण सुझावहरू समेटिएको जनाउँदै उनले कार्यान्वयन पक्षमा पनि गम्भीरता आवश्यक रहेको बताए ।
‘महासंघले दिएका धेरै सुझावहरू बजेटमा समावेश छन् । बजेट प्रस्तुत हुँदा राम्रो लाग्छ, तर कार्यान्वयनमा भने कमजोरी देखिने गर्छ,’ उनले भने, ‘महासंघले कार्यान्वयनको स्थिति हेरेर थप धारणा सार्वजनिक गर्नेछ ।’

ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सिफारिसहरू पनि कार्यान्वयनमा लैजान जरुरी रहेको उल्लेख गरे।

सामाजिक सुरक्षा भत्ता वृद्धिका सन्दर्भमा उनले उमेर सीमा ७० वर्ष पुर्‍याउने सुझाव महासंघको रहेको बताए ।

‘७० वर्षमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने हाम्रो सुझाव हो । निजी क्षेत्र उत्साहित छ र लगानीको वातावरण पनि विस्तार हुन्छ,’ उनले भने ।