
काठमाडौं । वित्तीय क्षेत्रका १० संस्थानको आय ३.२७ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा २०८२ का अनुसार आर्थिक वर्ष २०८०/८१ मा वित्तीय क्षेत्रका १० संस्थानको आय ३.२७ प्रतिशतले बढेको हो ।
वित्तीय क्षेत्रका १० संस्थानको कुल सञ्चालन आय गत समीक्षा अवधिमा ८७ अर्ब ७९ करोड २६ लाख रहेकोमा यस समीक्षा अवधिमा ३.२७ प्रतिशतले वृद्धि भई ९० अर्ब ६६ करोड ६१ लाख पुगेको हो ।
उक्त आयमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सबैभन्दा बढी योगदान (२९ अर्ब ७४ करोड २६ रुपैयाँ) रहेको छ ।
प्रतिवेदनअनुसार वित्तीय क्षेत्रका संस्थानको आर्थिक वर्ष २०७९/८० मा कुल प्रशासनिक खर्च १५ अर्ब ५५ करोड ३८ लाख रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ३.७४ प्रतिशतले वृद्धि भई १६ अर्ब १३ करोड ५५ लाख कायम भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० मा वित्तीय क्षेत्रका संस्थानको खुद नाफा १९ अर्ब ३९ करोड ६४ लाख रहेकोमा समीक्षा अवधिमा २१.८० प्रतिशतले कमी भई १५ अर्ब १६ करोड ८६ लाख कायम भएको छ ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडको खुद नाफामा कमी आएकोले यस क्षेत्रको समग्र खुद नाफामा कमी आएको छ ।
आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको कुल सञ्चित नाफा १२ अर्ब ४७ करोड ४५ लाख रहेकोमा आव २०८०/८१ मा १२.७५ प्रतिशतले कमी आई १० अर्ब ८८ करोड ३६ लाख कायम भएको देखिन्छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल बैंक लिमिटेड र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको सञ्चित नाफामा आएको कमीले गर्दा यस क्षेत्रको समग्र सञ्चित नाफा घटेको छ ।
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी संख्या आर्थिक वर्ष २०८०/८१ मा १४.९६ प्रतिशतले वृद्धि भई १० हजार ८ सय २९ जना पुगेको पाइएको छ। यस अवधिमा सञ्चालन आयमा प्रति कर्मचारी योगदान ९.५२ प्रतिशतले घटेर ८३ लाख ७२ हजारमा सीमित भएको छ ।
प्रस्तुत तथ्यांकले कर्मचारी उत्पादकत्वमा ह्रास आएको देखिएको छ भने यस क्षेत्रको औसत ऋण पुँजी अनुपात ०.२५ रहेको छ । यस क्षेत्रको समग्र सेयर धनी कोष अघिल्लो वर्षको तुलनामा ५.४६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब २३ करोड २२ लाख पुगेकोले यस क्षेत्रको पुँजीगत आधार सुदृढ देखिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा वित्तीय क्षेत्रका सार्वजनिक संस्थानले नेपाल सरकारलाई भुक्तानी गर्न बाँकी ऋण रकम सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अभिलेख अनुसार, अघिल्लो वर्षको तुलनामा २२४ प्रतिशतले वृद्धि भई २८ करोड ८९ लाख पुगेको छ ।
यसका साथै, समीक्षा अवधिको अन्त्यसम्ममा यस क्षेत्रमा नेपाल सरकारको कुल सेयर लगानी पनि ३.०४ प्रतिशतले वृद्धि हुँदै रु.५९ अर्ब ५ करोड १३ लाख पुगेको छ, जसले यस क्षेत्रमा सरकारी ऋण दायित्वमा उच्च वृद्धि र सेयर लगानीमा सामान्य वृद्धि भएको स्थिति दर्शाउँछ ।
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानको वित्तीय स्थितिको विवरण तालिका १७ मा प्रस्तुत गरिएको छ । समीक्षा अवधिमा यस क्षेत्रका संस्थानमध्ये राष्ट्रिय वाणिज्य वैंकबाट ८५ करोड ९८ लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडबाट ६५ करोड ६५ लाख, नेपाल स्टक एक्स्चेन्ज लिमिटेडबाट ३७ करोड ५४ लाख र नागरिक लगानी कोषबाट १ करोड ३८ लाख गरी नेपाल सरकारलाई जम्मा १ अर्व ९० करोड ५७ लाख लाभांश प्राप्त भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा वित्तीय क्षेत्रका सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको तथा सम्भावित दायित्व अघिल्लो वर्षको तुलनामा १८.८५ प्रतिशतले वृद्धि भई २० खर्ब ४४ अर्ब ६८ करोड ६ लाख पुगेको छ। प्रस्तुत दायित्वमध्ये निक्षेप तथा कर्जा सुरक्षण कोषको हिस्सा ८०.९३ प्रतिशत (१६ खर्ब ५४ अर्ब ९२ करोड १४ लाख) रहेको छ ।
निक्षेप तथा कर्जा सुरक्षणको दायरा विस्तार भएको र सो वापतको सम्पूर्ण दायित्वलाई सम्भावित दायित्व अन्तर्गत गणना गरिएको कारण समग्र दायित्वमा वृद्धि भएको देखिन्छ ।







प्रतिक्रिया