
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको ठहर गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए ।
गृहमन्त्रीले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि कांग्रेसले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गरेको बताए ।
भिजिट भिसा प्रकरणमा संलग्नहरूमाथि छानबिन र कारबाही हुनुपर्छ भन्नेमा दुई मत नरहेको उनले स्पष्ट पारे ।
भिजिट भिसाको दुरुपयोग र भ्रष्टाचार आफूहरूलाई मान्य नभएको बताउँदै त्यसमा गृहमन्त्रीको संलग्नता नरहेको उनले बताए ।
‘गृहमन्त्रीज्यूले अहिले जुन विषय सार्वजनिक रूपमा, मिडियामा आएको छ । त्यस सम्बन्धमा उहाँले स–विस्तार आफ्नो कुरा राख्नुभयो । आफ्नो कुनै पनि हिसाबको संलग्नता छैन, मैले कुनै कमीकमजोरी गल्ती गरेको छैन भनेर स–विस्तार कुरा राख्नुभयो,’ उनले भने, ‘ हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गर्यौं । उहाँको भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन । तर, जो संलग्न छन्, ती माथि कारबाही हुनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन । भिजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने कुरा हाम्रो लागि मान्य छैन । जहाँसम्म गृहमन्त्रीको कुरा छ, उहाँ यसमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त भयौँ ।’








प्रतिक्रिया