कर विवरण नबुझाउने करिब १ लाख करदाता निलम्बनमा, खरिद बिक्री र आयात निर्यात गर्न नपाउने (सूची)

5k
Shares

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि करको विवरण नबुझाउने करिब १ लाख करदाताको विवरण निलम्बन गरेको छ आन्तरिक राजस्व विभागले ६ महिनासम्म कर विवरण पेश नगर्ने करिब १ लाख करदातलाई निलम्बन गरेको हो । विभागले निलम्बनमा राखेका करदातासँग कुनै पनि खरिद बिक्री कारोबार नगर्न आह्वान गरेको छ ।

विभागले निलम्बन भएका करदाताको निलम्बन रहेको अवधिसम्म आयात र निर्यात कारोबार रोक्का गर्न भन्सार विभागलाई आग्रह गरेको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) मा लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको कर कट्टी गर्नु पर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिने व्यवस्था अनुसार ति करदातालाई निलम्बन गरेको हो ।

आन्तरिक राजस्व विभागले ११ वैशाख २०८२ मा सार्वजनिक सूचना प्रकाशित गरी आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी १५ दिनभित्र कर विवरण पेश गरी आफ्नो कारोबार नियमित गर्न सुचना प्रकाशित गरेको थियो ।

तर, ७ जेठ २०८२ सम्मपनि कर विवरण नबुझाएको भन्दै विभागले ९५ हजार ३४९ करदातलाई निलम्बनमा राखेको छ ।
‘विभागको ९ जेठ २०८२ को निर्णय अनुसार सूचनामा तोकिएको म्यादभित्र कर विवरण नबुझाएका करदाताहरुको करकट्टि रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको छ,’ आन्तरीक राजस्व विभागले आइतबार एक सुचना प्रकाशित गर्दै भनेको छ ।

मूल्य अभिवृद्धि करको विवरण नबुझाउने नाम, स्थायी लेखा नम्बर समेत विभागले बेवसाइट मार्फत सार्वजनिक गरेको हो ।

के हुन्छ निलम्बन भएका करदातालाई ?

आन्तरीक राजस्व विभागको गृहपृष्ठमा रहेको स्थायी लेखा नम्बर खोजी गर्ने विकल्पमा ‘प्यान सर्च’ मा कुनै करदाताको स्थायी लेखा नम्बर ‘इन्ट्रि’ गरी हेर्दा निलम्बित करदाताको हकमा विभागको ९ जेठ २०८२ को निर्णय अनुसार मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको छ भन्ने विवरण देखिने सुचनमा उल्लेख छ । यसरी निलम्बित देखिएमा करदातासँग खरिद वा बिक्री कारोबार नगर्न विभागले अनुरोध गरेको हो ।

दर्ता निलम्बन भएका करदाताहरुले कर विवरण पेश गरी कारोबार नियमित गरी दर्ता कायम राख्न चाहेमा बाँकी सबै अवधिको कर विवरण पेश गरेपछि निलम्बन सुचिबाट स्वतः हट्ने विभागले जनाएको छ । दर्ता निलम्बन भएका करदाताको निलम्बन रहेको अवधिसम्म निकासी र पैठारी सम्बन्धी कारोबार रोक्का गर्न भन्सार विभागलाई आग्रह गरेको छ ।

कुनै करदाताको दर्ता निलम्बन हुनु नपर्ने कुनै कारण भएमा, यस सम्बन्धी कुनै दावी विरोध भएमा वा कुनै असुविधा परेमा आफ्नो व्यवसाय दर्ता रहेको सम्बन्धित आन्तरिक राजस्व कार्यालय (तथा करदाता सेवा कार्यालयमा सम्पर्क आह्वान गरेको हो ।