कांग्रेसभित्र गृहमन्त्रीको राजीनामाले विवाद चर्किंदै, किन बोलाए देउवाले बैठक ?

2.1k
Shares

काठमाडौं । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नसँगै नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको बेला पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

बैठकमा आगामी संसद् अधिवेशन, पार्टीको आन्तरिक अवस्था, समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा क्रियाशील सदस्यता नवीकरणका विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेकाले कांग्रेसले आफ्नो धारणा तय गर्न बैठक आह्वान गरेको हो । यसका साथै, असार मसान्तसम्म कायम गर्न भनिएको क्रियाशील सदस्यता नवीकरणको प्रगति, सम्भावित म्याद थपबारे पनि बैठकमा निर्णय हुने सम्भावना छ ।

भिजिट भिसा प्रकरण र गृहमन्त्रीको भूमिकामाथि बहस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसाको सेटिङ गरी विदेश पठाउने गिरोह सक्रिय रहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै छापा मारेको थियो । यस क्रममा प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित केही कर्मचारी र कागजात नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकको भूमिकामाथि नै प्रश्न उठेको छ ।

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखकको तत्काल राजीनामा माग गरिसकेको छ भने कांग्रेसभित्र पनि नेता लेखकको राजीनामा दिनुपर्ने/नपर्ने भन्ने विषयमा स्पष्ट दुई धार देखिएका छन् । इतर समूहका नेता डा. शेखर कोइरालाले सार्वजनिक रूपमा नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिँदा, संस्थापन पक्षीय नेता कृष्णप्रसाद सिटौलाले कर्मचारीको गल्तीका लागि मन्त्रीलाई दोष दिनु गलत भएको बताएका छन् ।

गम्भीर रूपमा बढ्दो विवाद र सार्वजनिक दबाबबीच अब देउवाको अध्यक्षतामा बस्ने पदाधिकारी बैठकले पार्टीको औपचारिक धारणा बनाउने अपेक्षा गरिएको छ। यदि बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने प्रस्तावलाई समर्थन मिल्यो भने कांग्रेसभित्रको आन्तरिक सन्तुलनमा धक्का पर्न सक्ने आकलन गरिएको छ ।

गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन्।

उनले त्रिभुवन विमानस्थलको अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा पठाएर रकम असुलेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनको विषयमा आफूलाई नियोजित तरिकाले जोडेर झुटो प्रचार गरिएको बताएका छन् ।

शनिबार गृहमन्त्री लेखकको सचिवालयले जारी गरेको भिडिओमा उनले त्रिभुवन विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई राजनीतिक जीवनमै एउटा मात्रै आर्थिक अनियमितता प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।

‘यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’ उनले भने ।

मन्त्री लेखकले लाखौंको संख्यामा रहेको गृह मन्त्रालयका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले अनुसन्धान सुरू गर्न सक्ने बताए। तर कर्मचारीको विषयमा अनुसन्धान हुँदा मन्त्रीले राजीनामा गर्न सम्भव नहुने पनि उनले बताए ।

मन्त्री लेखकले यसबारेमा संसदमा विस्तृत बोल्ने पनि जानकारी गराएका छन् ।

‘यो बारेमा १३ गते संसदमा विस्तृत रूपमा भन्छु। बोल्नका लागि समय मागिसकेको छु। कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरू हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ?,’ उनले भने ।

अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले भने त्रिभुवन विमानस्थलको अध्यागमन प्रकरणमा आफूलाई नियोजित रूपमा जोडेर झुटो प्रचार गरिएको दाबी गरेका छन् ।

उनले भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको अनुसन्धान कर्मचारीस्तरसम्म सीमित रहेको र मन्त्रीले त्यसका लागि राजीनामा दिनु नपर्ने बताए ।

‘यदि मैले एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने म राजनीतिबाटै राजीनामा दिन्छु,’ उनले भने ।

संवैधानिक निकायले जुनसुकै बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्ने अधिकार रहेको उल्लेख गर्दै मन्त्री लेखकले आफू संसद्मा विस्तृत रूपमा बोल्ने तयारीसमेत गरेका छन् ।

१३ गते संसद्मा यसबारे जवाफ दिने उनको भनाइ छ ।