
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क्षेत्रलाई मजबुत बनाउन र नेपाल–भारतबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीमा इन्डो नेपाल सीएसआर समिट आयोजना गरिएको छ । बिफक्याप नेपालको आयोजना तथा डीजेडआई फाउन्डेसनको सहकार्यमा सम्पन्न सम्मेलनमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआरका रकमहरु खर्च गर्ने सन्दर्भमा त्यति धेरै प्रभावकारी नभइरहेको र कर्पोरेट कम्पनीले यसलाई ध्यान दिन नसकेको बताइन् ।
उनले सीएसआरका कार्यक्रमहरुले ठूलो प्रभाव पार्ने र धेरै नेपाली समाजहरु लाभान्वित हुनसक्ने बताइन् । उपसभामुख रानाले भनिन्, ‘हामीले सिएसआरको पोलिसी बनाउन बहसहरु गरिरहेका छौँ । यसमा कर्पोरेट समुदायले पनि बहस गर्न जरुरी छ । सिएसआर भनेको पैसा मात्रै होइन । यो व्यवसायको कर्तव्य र समाजसेवा पनि हो ।’
यस्तै कार्यक्रमका विशिष्ट वक्ता नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष एवम् सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सीएसआर जस्तो महत्वपूर्ण छलफल भएको पाउँदा खुशी व्यक्त गरे । उनले भने, ‘सूर्य नेपाल र अन्य नेपालका ठूला कर्पोरेटहरुले सीएसआरमा कुनै न कुनै किसिमको सहकार्य गर्दा दिगो विकासमा टेवा पुग्ने देखिएको छ ।’
विफक्याप नेपालले समिटबाट प्राप्त रकमले पूर्व नेपालका ३ वटा जिल्ला भोजपुर, सोलुखुम्ब र खोटाङका ४०० जना उद्यमीहरुलाई वित्तीय साक्षरता दिने बताएको छ । विफक्यापले आगामी वर्ष एशिया सीएसआर समिट आयोजना गर्ने बताएको छ ।
कार्यक्रमका सत्रहरुमा भारतका विभिन्न संस्थाहरुका प्रतिनिधिले सीएसआरका मोडालीटीहरु प्रभावकारी बनाउनुपर्ने र त्यसपछि बल्ल समाजमा उल्लेखीय समाजसेवाका कार्यक्रमहरु स्थापना गर्न सकिने बताए । कार्यक्रममा नेपालका प्रतिष्ठित सांसदहरु, मन्त्रालयका उच्च पदस्थ व्यक्तित्वहरु भारत र नेपालका वरिष्ठ सीएसआर विशेषज्ञहरु तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधहरुको उपस्थिति थियो ।
बिफक्याप नेपालले देश तथा विदेशमा रहेका विभिन्न संघ संस्थाहरुमा उद्यम गर्ने हजारौं युवाहरुमाझ विभिन्न सीपमुलक कार्यक्रमहरु, मानव विकास, क्षमता अभिवृद्धि जस्ता थुप्रै महत्वपूर्ण कार्यक्रमहरु सञ्ञ्चालन गर्दै आइरहेको छ । साथसाथै विफक्याप नेपालले विभिन्न किसिमका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु एवंम वित्तीय साक्षरताका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ । विफक्याप नेपालमै पहिलोपटक सांसदहरुलाई वित्तीय साक्षरता प्रदान गर्ने संस्था हो ।








प्रतिक्रिया