३६ ट्रिलियन डलर ऋणमा अमेरिका !

६ दशकमा ऋणको सीमा ७८ पटक बढाइयो

581
Shares

एजेन्सी । अमेरिका अहिले विश्वकै सबैभन्दा ठूलो ऋणी राष्ट्र बनेको छ । हालै अमेरिकी संसदको एउटा प्रमुख समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर कटौती सम्बन्धी विधेयक पारित गरेको छ जुन सम्भवत: यो साता संसदबाट पनि पारित हुन सक्छ ।

अमेरिकाको आर्थिक अवस्थाप्रति थप चिन्ता व्यक्त हुन थालेको छ । यो विधेयकले सन् २०१७ मा ल्याइएको कर कटौतीलाई निरन्तरता दिनेछ, जसले आगामी दशकमा अमेरिकी राष्ट्रिय ऋणमा झण्डै ५ ट्रिलिय डलर थप्ने देखिएको छ।

यो निर्णय अमेरिकाको क्रेडिट रेटिङ घटाएर मूडिजले दिएको चेतावनीपछि आएको हो । मूडिजले गत शुक्रबार अमेरिकाको क्रेडिट आउटलुक ‘नेगेटिभ’मा परिवर्तन गर्दै ३६ ट्रिलियन डलर पुगेको ऋणलाई दीर्घकालीन आर्थिक जोखिमको रूपमा चिन्ता जनाएको थियो । कारण स्पष्ट छ, अमेरिका हाल करिब ३६ ट्रिलियन डलर ऋणमा डुबेको छ र यो रकम दिनप्रतिदिन तीव्र गतिमा बढिरहेको छ । अमेरिकी ऋण अहिले देशको कुल आर्थिक उत्पादनको १२२ प्रतिशतसम्म पुगिसकेको छ, जुन अवस्था दीर्घकालीन रूपमा निकै जोखिमपूर्ण मानिन्छ ।

राष्ट्रिय ऋण: अमेरिकी सरकारको ‘अदृश्य बोझ’

यो सरकारद्वारा विभिन्न प्रयोजनका लागि लिइएको उधारो रकम हो, जुन सरकारी योजना, सेवा, सामाजिक सुरक्षाजस्ता कामहरूका लागि खर्च गरिन्छ । यति ठूलो रकम उठाउन अमेरिकाले मुख्यतः तीन किसिमका ऋणपत्रहरू ट्रेजरी बिल, नोट र बन्डमार्फत पैसा संकलन गर्छ । यी सबै लगानीकर्ताहरूबाट उधारो लिएका रकम हुन्, जुन सरकारले निश्चित समयमा ब्याजसहित तिर्ने वाचा गरेको हुन्छ ।

हालको तथ्यांकअनुसार, अमेरिका प्रत्येक तीन महिनामा करिब १ ट्रिलियन डलर बराबरको नयाँ ऋण थपिरहेको छ । महामारीको समयमा सन् २०२० मा अमेरिकाको ऋणदेखि जीडीपी अनुपात १३३ प्रतिशतसम्म पुगेको थियो, जुन अहिलेसम्मकै उच्च स्तर हो । यो अनुपात अहिले थोरै घटेर १२२ प्रतिशतमा आइपुगेको भए पनि यसको दीर्घकालीन असर गम्भीर देखिएको छ।

यति धेरै ऋण किन भयो भन्ने प्रश्न उठ्न सक्छ । यसको प्रमुख कारण अमेरिकी सरकारले लामो समयदेखि आफ्नो आम्दानीभन्दा बढी खर्च गर्दै आएको हो ।

अमेरिकी सरकारले आफ्नो खर्च चलाउन घाटा बजेट (आयभन्दा बढी खर्च) बनाउँदै आएको छ । यस घाटालाई पूरा गर्न ऋण लिनुपर्छ । तर, संविधानले कंग्रेसलाई ‘ऋण सीमा’ तोक्ने अधिकार दिएको छ । यो सीमा पार गर्न सकिँदैन, अन्यथा सरकार ‘डिफल्ट’ (ऋण तिर्न नसक्ने अवस्था) हुन सक्छ । यसैले कंग्रेसले १९६० देखि अहिलेसम्म ७८ पटक यो सीमा बढाएको छ । गत वर्ष पनि ऋण सीमा बढाउन रिपब्लिकन र डेमोक्रेट दलबीच विवाद भएको थियो । विश्लेषकहरूले यसलाई ‘राजनीतिक नाटक’ भन्छन्, किनभने दुवै दलले ऋण बढाउँदै आएका छन् ।

६ दशकमा यो सीमा ७८ पटक बढाइएकोले अमेरिका लगातार आफ्नो खर्च धान्न नयाँ ऋण लिइरहेको संकेत गर्छ ।

डनाल्ड ट्रम्प (२०१७-२०२१): ट्रम्पको कर कटौती नीतिले सरकारी आय घटाएर ऋण बढाउन मद्दत गर्यो । २०२० मा कोभिड १९ महामारीको कारण ३.१ ट्रिलियन डलरको राहत प्याकेजले ऋणलाई थप गर्‍यो । त्यसबेला घाटा जीडीपीको १५ प्रतिशत पुगेको थियो।

जो बाइडेन (२०२१-२०२४): बाइडेन प्रशासनले इन्फ्रास्ट्रक्चर योजना र यूक्रेनलाई सहयोग जस्ता कार्यक्रमहरूमा खर्च गर्दा ऋण बढ्य ।

बिल क्लिन्टन (१९९३-२००१): १९९० को दशकमा डट-कम बूमले आर्थिक वृद्धि बढाउँदै सरकारले कर बढाएर सरप्लस हासिल गरेको थियो । यो अमेरिकाको इतिहासमा एकमात्र उदाहरण हो ।

कोसँग कति ऋण?

अमेरिकी ऋणको ठूलो भाग अझै पनि घरेलु लगानीकर्ताको हातमा छ । कूल ३६ ट्रिलियन डलरमध्ये करिब २७ ट्रिलियन डलर अमेरिकी नागरिक, संस्था र सरकारी निकायहरूको स्वामित्वमा छ ।

विशेषगरी पेन्सन फन्ड, म्युचुअल फन्ड र व्यक्तिगत लगानीकर्ताहरूले ट्रेजरी ऋणपत्रहरूमा ठूलो लगानी गरेका छन् । अमेरिका भित्रै सबैभन्दा ठूलो व्यक्तिगत ऋणधारक वारेन बफेट हुन्, जसले आफ्नो कम्पनी बर्कशायर हैथवेमार्फत करिब ३१४ अर्ब डलर बराबरको अमेरिकी ऋणपत्र किनिसकेका छन्।

तर बाँकी २५ प्रतिशत ऋण भने विदेशी लगानीकर्ताको स्वामित्वमा छ । यो भाग करिब ९ ट्रिलिय डलर बराबरको हो र यो संख्या पछिल्ला ५० वर्षमा पाँच गुणा बढेको छ । विदेशी धारकहरूले ९.०५ ट्रिलियन डलर (२५%) ऋण होल्ड गरेका छन् ।

जसमा जापान, बेलायत, चीन, क्यानाडा र केम्यान टापुहरू छन् । विशेष गरी जापानसँग १.१३ ट्रिलियन डलर बराबरको अमेरिकी ऋण छ, जुन सबैभन्दा धेरै हो । चीनले केही समयदेखि आफ्नो अमेरिकी ऋण होल्डिङ घटाउँदै आएको छ । व्यापार युद्धका कारण र आन्तरिक रणनीतिको कारण उले ऋणको होल्डिङ घटाउँदै लगेको छ ।

यसको अर्थ ति देशले अमेरिकालाई ऋण दिएका होइनन् । अमेरिका आफ्नो ऋण (ट्रेजरी बण्ड/बिल्स) विश्वभर बेच्छ । जापान, चीन, यूके जस्ता देशहरूले यी बन्डहरू किन्छन् । जसले गर्दा अमेरिकाले ती देशहरूबाट उधारो लिएको हुन्छ। यसरी जापानले अमेरिकालाई ‘ऋण दिएको’ नभइ अमेरिकी सरकारले जारी गरेको ऋण प्रतिभूति (कर्जा) किनेको हो ।

अमेरिकी ट्रेजरीलाई विश्वको सबैभन्दा सुरक्षित लगानी मानिन्छ जसले गर्दा जापान लगायतका देशले आफ्नो विदेशी मुद्रा भण्डारको धेरै भाग यसमा राख्छन् ।

अमेरिकामा के प्रभाव पर्छ ?

यो अवस्थामा अमेरिकी जनतामाथि प्रत्यक्ष प्रभाव पर्न सक्छ। ऋण बढ्दै जाँदा सरकारले त्यसको ब्याज तिर्न थप रकम छुट्याउनुपर्ने हुन्छ । जसले गर्दा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, पूर्वाधारजस्ता क्षेत्रमा खर्च कटौती हुनसक्छ । अमेरिकी सरकारले ऋण ब्याज तिर्न वार्षिक बजटको १० प्रतिशत (२०२३ मा ६५९ बिलियन डलर) खर्च गर्छ । यो रकम स्वास्थ्य, शिक्षा, र अन्तरिक्ष अनुसन्धान जस्ता क्षेत्रमा जान सक्थ्यो ।

अर्को विकल्प भनेको कर वृद्धि हो, जसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकमा पर्छ । साथै, उच्च ऋणका कारण बजारमा ब्याजदर पनि बढ्न सक्छ, जसले घर कर्जा, साना व्यवसाय कर्जा, गाडी कर्जा र क्रेडिट कार्डको भुक्तानी महँगो बनाउँछ।

विश्व अर्थतन्त्रमा नेतृत्वदायी भूमिकामा रहेको देशका लागि यो अवस्था सामान्य होइन । अमेरिकी ऋणको स्थायीत्वमा आएको संकटले केवल अमेरिकामात्र होइन, उसमा आश्रित पूरै विश्व अर्थतन्त्रलाई असर पार्न सक्छ । अमेरिकाले समयमै ठोस नीति परिवर्तन नगरेमा, यो ऋण संकट आगामी दशकहरूमा एउटा गहिरो आर्थिक भूइँचालोको कारण बन्न सक्ने सम्भावना प्रबल देखिन्छ । अर्थशास्त्रीहरूले सरकारलाई खर्च घटाउन र कर नीति पुनरावलोकन गर्न आग्रह गरेका छन् । तर, राजनीतिक दलहरूबीच सहमति नभएसम्म यो समस्या आइरहने छ ।

एजेन्सीहरुको सहयोगमा