
काठमाडौं । गत चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्यो । पूर्वराजाका नाममा जरिबाना पत्र काटे पनि निर्मल निवासले पत्र बुझ्न मानेन ।
पूर्वराजा आयोजन नै नभएकाले उक्त जरिबाना उनको नाममा काट्न नमिल्ने भन्दै संशोधन गर्न राजावादीले महानगर प्रमुख बालेन शाहलाई आग्रह गरेका थिए भने महानगरले तोकेको जरिबाना रकम संकलन गरेका थिए ।
नागरिक आन्दोलनमा जरिवाना स्वरूप तोकेको रकम विदेशमा रहेका नेपालीहरूको सहयोगमा तिर्ने भन्दै संकलन अभियान नै चलाइएको थियो ।
‘संयुक्त जनआन्दोलन समिति’ को नाममा जरिवाना तिर्ने जिम्मेवारी लिँदै सहयोग संकलन सुरु भएको थियो ।
सोही अभियानमार्फत संकलित ८ लाख ३९ हजार ४ सय रुपैयाँ बिहीबार जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रम हिन्दू राष्ट्र तथा राजसंस्था पुनःस्थापना अन्तर्राष्ट्रिय प्रवासी नेपाली संघर्ष समितिका सदस्य–सचिव अंगत प्रसाद देवकोटाले संयोजक सुवेदीलाई रकम प्रदान गरे ।
उक्त रकम काठमाडौं महानगरपालिकाको जरिवाना तिर्ने र बाँकी रकम आन्दोलनका क्रममा घाइते भएका व्यक्ति वा परिवारलाई सहयोगस्वरूप वितरण गरिने बताइएको छ ।
तीनकुनेको आन्दोलन हिंसात्मक बनेपछि सुवेदी केही समय नजरबन्दमा समेत परेका थिए । सुवेदीले आन्दोलनको नेतृत्व आफूले गरेकोले जरिबाना पनि आफूहरुले तिर्ने बताए ।








प्रतिक्रिया