
काठमाडौं । पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी प्रक्रिया रोक्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
गत असारदेखि रोकिएको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन पाटनले अन्तरिम आदेश जारी गरेको हो ।
नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष नरेन्द्रकुमार रानाले गत असार २६ गते कम्पनीको आईपीओ रोकेका थिए । अध्यक्षको निर्णयअनुसार बोर्डले बिक्री प्रबन्धकलाई पत्र लेख्दै ‘धितोपत्र निष्काशन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्न’ भनेको थियो ।
धितोपत्र बोर्डको निर्णय र बिक्री प्रबन्धकलाई लेखेको पत्रविपरित रिलायन्सले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । कम्पनीले आईपीओ जारी प्रक्रिया यथासीघ्र अघि बढाइपाउँ भन्दै बैशाख ११ गते दायर गरेको रिटमा उच्च अदालत पाटनको मुनेन्द्र प्रसाद अवस्थी र श्री टीकाराम आचार्यको संयुक्त इजलासले ‘पत्र कार्यान्वयन नगर्नु नगराउनु’ भनी अन्तरिम आदेश दिएको हो ।
बुक बिल्डिङबाट जारी भएको आईपीओ दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेका लागि असार २७ देखि आवेदन खुल्ने तयारी थियो ।
सर्वसाधारणलाई प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसामा जारी हुन लागेको आईपीओबारे अघिल्लो दिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिललाई आईपीओ जारी गर्न दिने निर्णय कसरी गरियो भन्ने विषयमा नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको थियो ।
बोर्डले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललाई लेखेको पत्र कार्यान्वयन नगर्ने मागसहित उच्च पुगेको रिट निवेदन रिलायन्सको मागबमोजिम अन्तरिम आदेश जारी भएको हो ।
लामो समय देखि रोक्का रहेको कम्पनीको सार्वजनिक निष्काशन प्रक्रिया अगाडी बढाउन माग गर्दै रिलायन्स स्पिनिङ्ग मिल्सले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनमा बैशाख २४ गते दुई पक्षीय सुनुवाई गरेको हो ।
पाटनले रिलायन्स स्पिनिङ्ग मिल्सले सार्वजनिक निष्काशन सम्बन्धि सम्पूर्ण प्रक्रिया पुरा गरी बोर्डबाट विवरण पत्र प्रकाशनको लागि स्वीकृति समेत प्राप्त गरेको थियो । तर, बोर्डले बिना आधार, कारण तथा अक्तियारी सो सार्वजनिक निष्काशन प्रक्रिया रोक्का गरेको रिट निवेदकको दाबी थियो । पाटनले ‘बोर्डको असार २६ को पत्र प्रारम्भिक रुपमा नै कानुन सम्मत नदेखिएकोले सो रिट निवेदनको टुंगो नलागेसम्म उक्त रोक्का पत्र कार्यन्वयन नगर्नु नगराउनु र उक्त पत्रसँग सम्बन्धित सबै कार्यहरु रोक्का राख्नु’ भनी अन्तरिम आदेश जारी गरेको हो ।
गत असार १४ गते नै पाएको थियो अनुमति
रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारण लगानीकर्तालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट असार १४ गते अनुमति पाएको थियो । १ वर्षसम्म पनि विविध कारणले आईपीओ रोकिएपछि रिलायन्स अदालत पुगेको हो ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।
कम्पनीले यसअघि बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँ थियो ।
रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि २०८० माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयरका लागि कबोल पेस गरेका थिए । रिलायन्सको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले पेस गरेको बोलपत्र माघ १५ गते खोलिएको थियो । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको थियो ।
कम्पनीको सेयर भर्न लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ खर्च गर्नु पर्ने छ । बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्छ । कानुनी व्यवस्थाअनुसार योग्य संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारणले आवेदन दिन पाउँछन् । कम्पनीले सर्वसाधारलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्ने छ ।
०००
रिलायन्स स्पिनिङ मिल्स सन् १९९४ मा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यो नेपालको सबैभन्दा ठूलो स्पिनिङ मिल हो ।
सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ ।
पछिल्लो समय कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरू विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्दै आएको छ ।
स्थापनाको २७ वर्षसम्ममा कम्पनीले ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । साथै लगानी पनि बढेर १५ अर्बभन्दा बढी पुगिसकेको छ ।
यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ ।
कम्पनीले केही वर्षदेखि नै वैकल्पिक ऊर्जा व्यवस्थापन र प्रयोग समेत गर्दै आइरहेको छ । आफ्नै सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको हो । रुफटपमा राखिएको सोलार प्यानलले ९ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । विगतदेखि नै अघोषित लोडसेडिङ भइरहने गरेकाले उद्योगले वैकल्पिक ऊर्जा व्यवस्थापन गरेको छ ।
रिलायन्स स्पिनिङ मिल्सले २०२४ मा ९ अर्ब २१ करोड रुपैयाँबराबरको व्यापार गरेको छ । अघिल्लो वर्ष २०२३ मा १० अर्ब ६० लाखको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख र सन् २०२१ मा ७ अर्ब ७९ करोड ३० लाख रुपैयाँबराबरको व्यापार गरेको थियो ।
रिलायन्सले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न २०८० असार ३१ गते बोर्डमा निवेदन दिएको थियो ।
०००
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्सले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।
कम्पनीले चालु आवको चैतसम्ममा ३२ करोड ४२ लाख ९६ हजार रूपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षभर गरेको नाफाभन्दा साढे ६ गुणा बढी नाफा गरेको हो ।
रिलायन्सले गत आवमा ५ करोड ३ लाख ८३ हजार रूपैयाँमात्र नाफा कमाएको थियो ।
९ महिनामा कम्पनीको कुल नाफा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ छ । यो नाफा सञ्चालन आम्दानी र बिक्री लागतको अन्तर हो । गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो ।
कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा अधिकांश सूचकहरूमा वृद्धि गरेको छ ।
नाफा साढे ६ गुणा बढी हुँदा चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि चालु आवको दोस्रो त्रैमासमा कम्पनीको इपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो । गत आवको असारमा कम्पनीको इपीएस २ रुपैयाँ ९५ पैसा थियो । त्यसपछि चालु आवमा क्रमशः बढेर तेस्रो त्रैमाससम्ममा २५ रुपैयाँ ४९ पैसा कायम भएको हो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असारसम्मा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ । चालु आवको चैतसम्ममा कम्पनीको करतिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
अर्को रिटमाथिको फैसला कार्यान्वयन गर्न समिति
धितोपत्र बोर्डले माघमा रिलायन्स स्पिनिङ मिल्स आईपीओ सम्बन्धमा आवश्यक निर्णय गर्न एक समिति बनाएको थियो । उच्च अदालत पाटनले रिलायन्सको आईपीओ निष्काशन रोक्न भनि परेको अर्को एक रिट खारेज गर्दै पुनर्मूल्यांकन गर्न सुझाएपछि बोर्डले सुपरिवेक्षण विभागका प्रमुखको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो ।
आईपीओ रोक्न परेको सो रिटमा उच्च अदालत पाटनले आफूले कानुनी वैधताको हकमा मात्र निरूपण गर्न मिल्ने भन्दै बाँकी विषयमा बोर्ड नै जवाफदेही हुने निष्कर्ष निकालेको थियो ।
उच्च अदालत पाटनले रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया नै रोक्नुपर्ने आदेश माग गर्दै दायर रिट निवेदन २०८१ साउन १४ मा खारेज गर्ने आदेश दिएको थियो । न्यायाधीशद्वय कृष्णराम कोइराला र डिल्लीरत्न खनालको संयुक्त इजलासले साउन १४ मा त्यसअघि असार २६ मा दिएको अन्तरिम आदेश खारेज गरेको थियो ।
सोही परिवेशमा बोर्डले आवश्यक अध्ययन र निर्णयका लागि अध्ययन समिति बनाएको थियो ।
प्रतिक्रिया