
काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले एशियन पेमेन्ट नेटवर्क (एपीएन) को २१औँ फोरमको पहिलो बैठक आयोजना गरेको छ ।
काठमाडौंको हिल्टन होटलमा मे ६/७ मा कार्यक्रम आयोजना गर्दै फोनपेले नेपालको डिजिटल भुक्तानी नवप्रवर्तनमा क्षेत्रीय केन्द्र बन्ने यात्रामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ । कार्यक्रममा एशियाका १४ सदस्य राष्ट्रहरूबाट प्रतिनिधिहरू भेला भई एशियामा सीमापार रिटेल भुक्तानीको भविष्य निर्धारण गर्न जुटेका थिए।
दुई दिनसम्म चलेको फोरमले एशियाका प्रमुख भुक्तानी नेटवर्कहरूबीच सहकार्य, ज्ञान आदानप्रदान, र रणनीतिक संवादको मंच प्रदान गर्यो। यस फोरममा उच्चस्तरीय छलफल, जानकारीमूलक प्रस्तुतीकरणहरू, र सदस्य राष्ट्रहरूबीचको डिजिटल वित्तीय सहकार्यलाई मजबुत पार्ने उद्देश्यले विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए।
फोरमको सुरुआत एक विशेष उच्चस्तरीय भेटघाटबाट भयो, जहाँ एपीएन प्रतिनिधिहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको कार्यालयमै भेट गर्ने अवसर पाए । यो उच्चस्तरीय सहभागिताले कार्यक्रममा सरकारको महत्व दर्शाएको थियो र डिजिटल भुक्तानी क्षेत्रमा क्षेत्रीय सहकार्य र नवप्रवर्तनलाई सुदृढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको थियो।
फोरमको पहिलो दिन एपीएन को वार्षिक साधारणसभा सम्पन्न भयो, जसमा प्रमुख कार्यसूचीहरू अन्तर्गत एनपीए चार्टरमा अद्यावधिक, कार्ड र नन-कार्ड सीमापार भुक्तानी पहलहरूको प्रगतिबारे जानकारी, र उप-समितिहरूका नयाँ पदाधिकारीहरूको चयन गरिएको थियो।
प्रमुख नेतृत्व परिवर्तन अन्तर्गत, फिलिपिन्सको ब्यान्सनेट नयाँ अध्यक्ष पदमा चयन गरियो, भने नेपालबाट फोनपे उपाध्यक्ष पदमा चयन गरियो । व्यापार उप-समितिको अध्यक्षमा इन्डोनेसियाको रिनटिज र उपाध्यक्षमा भियतनामको एनएपीएस चयन भए। प्राविधिक उप-समितिको अध्यक्षमा नेपालबाट फोनपे र उपाध्यक्षमा चीनको युनियन पे चयन भए । यस्तै, जोखिम उप-समितिको अध्यक्षमा थाइल्याण्डको एनआईटीएमएक्स र उपाध्यक्षमा इन्डोनेसियाको आर्टाजसा चयन गरिए । मलेसियाको पेनेटलाई आगामी कार्यकालका लागि लेखा परीक्षक र सिंगापुरको एनईटीएसलाई कोषाध्यक्ष नियुक्त गरिएको थियो ।
फोरमको समापन मे ७ मा ओपन डे सत्रहरूसँगै सम्पन्न भयो, जसमा फ्रड जोखिम व्यवस्थापन, सिकिएका पाठहरू, र सीमापार भुक्तानी एकीकरणसम्बन्धी प्यानल छलफलहरू गरिएका थिए । यी सत्रहरूमा फोनपेले क्षेत्रीय सहकार्यको आफ्नै अनुभवबाट मूल्यवान जानकारी प्रस्तुत गर्दै सुरक्षित र मापनीय भुक्तानी इकोसिस्टम विकासमा विश्वास, नियामक समन्वय, र प्रविधिको भूमिकालाई जोड दिएको थियो ।
“नेपालमा एपीएन फोरम आयोजना गर्नु डिजिटल भुक्तानी क्षेत्रको हाम्रो नेतृत्व क्षमतामा वृद्धिको संकेत हो। यो सिकाइहरू साझा गर्ने र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरी समावेशी र सुरक्षित वित्तीय प्रणाली अगाडि बढाउने अवसर हो,” फोनपेका मुख्य कार्यकारी अधिकृत दिवश कुमारले भने।
२ -दिने यस कार्यक्रममा सदस्य राष्ट्रहरूले डिजिटल भुक्तानी प्रवाह सहज बनाउनका लागि अपनाएका उत्कृष्ट अभ्यासहरू, प्रविधिमा भएका प्रगतिहरू, र रणनीतिहरू आदानप्रदान गरे।








प्रतिक्रिया