
काठमाडौं । विवाहको विषयमा भएको विवादपछि हत्या गरेर फरार भएका पर्साको पोखरिया-५ का ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहान पक्राउ परेका छन् । पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पोखरिया–६ का धर्मेन्द्रप्रसाद चौहानको विवाह ४ वैशाख २०७६ मा पोखरिया–५ की निशा कुमारी चौहानसँग भएको थियो । विवाहपछि बेहुली बिदाइ गर्न नमानेको विषयमा दुवै पक्षबीच झगडा भएको थियो । यसै विवादबीच ९ वैशाख २०७९ को दिउँसो पोखरिया–४ स्थित उद्यान अंग्रेजी बोर्डिङ स्कुलको प्रांगणमा पुनः दुई पक्षबीच झगडा भयो ।
झगडाको क्रममा बेहुलीका बुवा शंकरप्रसाद महचो चाइको टाउकामा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि काठमाडौंस्थित शहिद गंगालाल अस्पतालमा लगिए पनि ११ असार २०७९ मा उनको मृत्यु भएको थियो ।
शंकरप्रसादको मृत्यु पछि प्रहरीले घटनासँग जोडिएर सिकेन्द्रप्रसाद चौहानलाई प्रमुख आरोपीको रूपमा खोजी गरिरहेको थियो । लामो समयदेखि फरार रहेका चौहानलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको हो । अदालतले अनुसन्धानको लागि ७ दिने म्याद तोकेपछि चौहानलाई हिरासतमा राखेर थप जाँच अघि बढाइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया