
काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारले बिजुलीको पोल ठक्कर दिंदा सडक अवरुद्ध भएको छ ।
आइतबार राति करिब ११:१० बजे बा १५ च ७६५२ नम्बरको कार पोलमा ठोक्किँदा ११ हजार भोल्ट करेन्ट प्रवाह हुने पोल भाँचिएर सडकको बीचमा ढलेको हो । घटनापछि उक्त क्षेत्रमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर कारमा सवार तीन जना घाइते भएका छन् । घाइतेमध्ये म्याग्दीका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र २९ वर्षीय मोसेफ लामिछाने छन् । उनीहरूलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ ।
प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार विशाल विकको अवस्था गम्भीर छ र उनको आईसीयूमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई पोलमा ठोक्किएको अनुमान गरिएको छ । दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
प्राविधिक टोलीले पोल हटाउने र विद्युत् लाइन मर्मत गर्ने काम अगाडि बढाइरहेको छ । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया