नारायणी अस्पताल निर्माणमा पौने २ करोड भ्रष्टाचार, तत्कालीन मेसुसहित ९ जनामाथि अख्तियारको मुद्दा

231
Shares

काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा आकस्मिक कक्ष निर्माणको ठेक्कासम्बन्धी प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार अस्पताल निर्माणका क्रममा सार्वजनिक खरिद ऐनविपरीत सामग्री खरिद तथा प्रविधिको प्रयोग गरिएको पाइएपछि १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा हानि पुर्‍याएको ठहर गरिएको हो ।

आयोगले विशेष अदालतमा आरोपपत्र दायर गर्दै नारायणी अस्पताल वीरगञ्जका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुर, बिभागीय इन्जिनियर याजेन्द्र साह र भानुभक्त अन्सारी, अस्पतालका तत्कालीन लेखापाल मदनकुमार माजी लगायतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरेको हो ।

त्यस्तै, झूटो प्राविधिक विवरण पेश गरी ठेक्का सम्झौतामार्फत सरकारी रकम हिनामिना गरेको अभियोगमा निर्माण कम्पनी नभसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक जगत घिमिरे, लुम्बिनी-मिशन जेभीका प्रतिनिधि विष्णुप्रसाद शर्मा लगायतविरुद्ध पनि कारबाही माग गरिएको छ ।

विशेष अदालतमा दायर आरोपपत्रअनुसार अस्पतालको आकस्मिक कक्षको निर्माणमा प्रयोग हुनुपर्ने M35 ग्रेडको इन्टरलक ब्लकको सट्टा निम्नस्तरको सामग्री प्रयोग गरिएको पाइएपछि आयोगले परीक्षण प्रतिवेदनका आधारमा सो कदम चालेको हो ।

आयोगका प्रवक्ता याजेन्द्रकुमार पौडेलका अनुसार संलग्न सबै व्यक्तिहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा १७, ३(१)(झ), ३(१)(छ) लगायतका दफाअनुसार कैद र जरिवानासहितको सजाय माग गर्दै मुद्दा दायर गरिएको हो ।