
सिड्नी । अष्ट्रेलियामा घर खरिद गर्ने सपना देखिरहेका नेपाली आप्रवासीहरूका लागि सन् २०२५ सकारात्मक संकेतका साथ आएको छ । सरकारी सहुलियत योजना, ब्याजदर स्थिरता र नयाँ प्रविधिले घर खरिद प्रक्रिया सहज बन्दै गएको हो ।
सरकारको ‘हेल्प टु बाइ’ योजना प्रभावकारी हुँदै
अष्ट्रेलियाली सरकारले ल्याएको ‘हेल्प टु बाइ’ योजना विशेषगरी पहिलोपटक घर किन्नेहरूका लागि लक्षित गरिएको छ । यस योजनाअनुसार सरकारले नयाँ घरका लागि ४० प्रतिशत र पुराना घरका लागि ३० प्रतिशतसम्मको स्वामित्व खरिदकर्ताको पक्षमा राख्नेछ । जसअनुसार उनीहरूले थोरै निक्षेपमा पनि घर किन्न पाउनेछन् ।
सन् २०२५ मा सरकारले एकल आवेदकको वार्षिक आय सीमा १ लाख डलर र संयुक्त आवेदकको लागि १ लाख ६० हजार डलर पुर्याएको छ । द गार्डियनका अनुसार यसले अष्ट्रेलियामा अधिकांश पहिलोपटक घर किन्नेहरूलाई योजना अन्तर्गत ल्याउनेछ ।
५ प्रतिशत डिपोजिटमै घर किन्न पाइने ‘होम ग्यारेन्टी स्किम’
‘होम ग्यारेन्टी स्किम’ अन्तर्गत योग्य व्यक्तिहरूले केवल ५ प्रतिशत डिपोजिटमै घर किन्न सक्ने सुविधा पाउँछन् । सन् २०२५ मा यो योजनामा ३५,००० जनालाई समेट्ने लक्ष्य छ ।
‘फर्स्ट होम सुपर सेभर स्किम’ मार्फत खरिदकर्ताले आफ्नो सुपर एनुएसन खाताबाट ५० लाख डलरसम्म निकासी गरी घरको डिपोजिटमा प्रयोग गर्न सक्छन् । वेल्थी युका अनुसार, यसले दीर्घकालीन बचतलाई घर खरिदमा रुपान्तरण गर्ने बाटो खोलिदिएको छ ।
घर अभावको चुनौती कायमै
सरकारी योजनासँगै बजारमा केही चुनौती पनि देखिएका छन् । अष्ट्रेलियामा वार्षिक २ लाख ४० हजार घर निर्माण गर्ने सरकारी लक्ष्य भए पनि सन् २०२५ मा मात्र १ लाख ७१ हजार घर निर्माण हुने अनुमान छ । यसले किफायती घरको आपूर्तिमा समस्या झनै बढाएको छ ।
वातावरणीय नीतिले घर निर्माणमा ढिलाइ
हेराल्ड सनकाअनुसार मेलबर्न र जिलोङ क्षेत्रमा ‘भिक्टोरियन ग्रासल्याण्ड इयरलस ड्रागन’ नामक संकटग्रस्त छेपारोको संरक्षणका कारण सयौं निर्माण परियोजनामा ढिलाइ भएको छ । यसले बजारमा आपूर्ति दबाव सिर्जना गरिरहेको छ ।
पर्थमा मूल्य चुलिँदै, सिड्नी–मेलबर्नमा सम्भावित गिरावट
एसक्यूएम रिसर्चको मूल्य पूर्वानुमानअनुसार, सन् २०२५ मा पर्थमा घरको मूल्य १४%–१९% सम्म बढ्ने छ भने सिड्नी र मेलबर्नमा ५% सम्मको गिरावट सम्भावना छ । यसैबीच, कोरलोजिकको सर्वेक्षणमा ६५ प्रतिशत रियल इस्टेट एजेन्टहरूले मूल्य अझै बढ्ने अनुमान छ ।
नेपालीले के गर्ने ?
नेपालबाट अष्ट्रेलिया गएर बसोबास गरिरहेका वा बसाइँ सर्न चाहने व्यक्तिहरूले घर खरिद गर्नु अघि विदेशी नागरिकसम्बन्धी नियमहरू बुझ्न आश्यक छ । अस्थायी भिसाधारी वा विदेशीले फरेन इन्भेस्टमेन्ट रिभ्यु बोर्ड बाट स्वीकृति लिनु अनिवार्य हुन्छ । साथै केही राज्यमा अतिरिक्त स्टाम्प ड्युटी लाग्ने व्यवस्था पनि रहेको आउनहोमले जनाएको छ ।
घर खरिदका लागि अष्ट्रेलियामा सरकारी योजना, कम ब्याजदर, र प्रविधिको प्रयोगले अवसर खुलेको छ । यद्यपि निर्माण लागत, वातावरणीय नियम र विदेशी खरिदकर्ताका लागि थप कानुनी प्रक्रिया पनि रहन्छ ।








प्रतिक्रिया