
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपालका एक छात्राको मृत शरीर फेला परेको छ ।
यसअघि गत् फागुन ४ मा सोहि कलेजको होस्टेलमा बुटवलकी २० वर्षीया नेपाली छात्रा प्रकृति लम्सालको मृत शरीर फेला परेको थियो ।
वीरगञ्जकी १९ वर्षीया प्रिशा साहको मृत शरीर बिहीबार राति ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
साह उक्त कलेजमा कम्प्युटर साइन्स( बीटेक) बिषयका स्नातक तहको पहिलो वर्षका छात्रा थिइन् । बिहीबार साँझ उनका साथीहरूले होस्टेलको चौथो तलामा रहेको कोठामा उनको शव फेला पारेका हुन् ।
घटनापछि विश्वविद्यालय प्रशासनले अन्य नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट बाहिर निस्कन दिएको छैन् । घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । यश घटनाले नेपाली विद्यार्थीहरूमा त्रास र असुरक्षाको भावना बढ्दै गएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर तथा एसएसपी सञ्जीव शर्मा दासले उक्त घटनाको पुष्टि गरेका छन् ।
‘वीरगञ्ज घर भएकी प्रिशा साह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाको अनुसन्धान हुँदैछ,’ उनले भने ।
प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिदैं उनले परिवारका सदस्य आएपछि मात्रै पोष्टमार्टम गरिने बताए ।
उनका अनुसार प्रिशा होस्टलमा सिनियर छात्राहरुसँग बस्दै आएकी थिइन ।
प्रिशा गृह जिल्ला वीरगञ्ज आउँदा न्यायका लागि हुने विभिन्न प्रकारका अभियानमा सक्रिय सहभागिता जनाउँदै आएकी थिइन । केहि समय अघि रिंकु सदाको घटनाको बिषयमा पनि उनले विभिन्न अभियानमा सहभागिता जनाएकी थिइन ।

यसअघिको घटनामा ज्यान गुमाएकी लम्सालले भने आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएको र त्यसबारेमा पटक पटक कलेज प्रशासनमा उजुरी दिएपनि समस्या समाधान नभएपछि उनले मृत्युको बाटो रोजेकी थिइन् ।
ओडिसा राज्य सरकारद्वारा शोक व्यक्त
यसैबीच भारको ओडिसा राज्य सरकारले नेपाली छात्रा साहको मृत्युप्रति शोक व्यक्त गरेको छ । राज्य सरकारले बिहिबार नै बिज्ञप्ती जारी गर्दै शोक व्यक्त गरेको हो ।
राज्य सरकारले जारी गरेको शोक बिज्ञप्ती यस्तो छ :
कीआईआईटी युनिभर्सिटीमा नेपाली छात्राको आत्महत्या, राज्य सरकारद्वारा शोक व्यक्त
भुवनेश्वर, १ मे २०२५
नेपालकी एक छात्राले आत्महत्या गरेको आशंकासहितको सूचना आज साँझ ८:१० बजे स्थानीय प्रहरीले दिएको छ। मृतक छात्रा कीआईआईटी युनिभर्सिटीमा पहिलो वर्षको कम्प्युटर साइन्स, बी.टेक अध्ययन गर्दै थिइन्।
विश्वविद्यालय प्रशासनले घटना तुरुन्तै छात्राकी अभिभावकलाई जानकारी गराएको थियो।
यो दुःखद घडीमा मृतकका परिवारप्रति राज्य सरकारले गहिरो समवेदना प्रकट गर्दै आवश्यक सहयोगको आश्वासन दिएको छ। जानकारी प्राप्त भएलगत्तै पुलिस आयुक्त र राजस्व मण्डलीय आयुक्त लगायतका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। फरेन्सिक टोली घटनास्थलमा उपस्थित भई प्रमाण संकलनको काम गरिरहेको छ।
— सूचना तथा जनसम्पर्क विभाग
सरकार, ओडिशा









प्रतिक्रिया