सरकारसँग ९ बुँदे सहमति पछि शिक्षकहरूको आन्दोलन स्थगित

301
Shares

काठमाडौं । सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति भएपछि लामो समयदेखि जारी शिक्षकहरूको हड्ताल र प्रदर्शन आजदेखि स्थगित भएको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहमति कार्यान्वयन गर्ने निर्णय गरेपछि शिक्षक महासंघले विज्ञप्ति जारी गरी आन्दोलन फिर्ता लिएको जनाएको छ ।

बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षकहरूको सुविधा सम्बन्धी विभिन्न मागहरूमा सहमति जुटेको थियो ।

शिक्षकहरूले आफ्ना विभिन्न माग राख्दै चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका थिए। आन्दोलनका कारण देशभर करिब २९ हजार सामुदायिक विद्यालयमा पठनपाठन अवरुद्ध भएको थियो । साथै, भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा समेत प्रभावित भएको थियो ।