
काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गरेका विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक चौधरीलाई सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले आज पक्राउ गरेको थियो । बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा पार्टी एकता घोषणा सभामा सहभागी रहेका चौधरीलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएर डिल्लीबजार कारागारमा राखेको हो ।
सर्वोच्चबाट पत्र गएपछि अदालतमा हंगामा भएको छ । सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले रेशम चौधरीलाई थुनामा पठाउने भन्ने फैसला गरेका छैनन् । तर सर्वोच्चको मुद्दा शाखाले योगराज ढकाल (रिगल) को मुद्दामा २०८० कात्तिकमा गरेको फैसलामा टेकेर सो पत्र पठाएको छ ।
यसरी एउटा मुद्दाको नजिरमा टेकर अर्को मुद्दाको कार्यान्वयनबारे पत्र पठाउने अधिकार सर्वोच्चको मुद्दा तथा रिट शाखालाई नभएको भन्दै पत्र विवादमा परेको छ ।








प्रतिक्रिया