
काठमाडौं । नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच सम्झौता भएको छ ।
संघको २४ औं वार्षिक साधारण सभाको अवसरमा दुई संस्थाबीच कृषि क्षेत्रको सूचना, विश्लेषण र परामर्श सेवा आदान प्रदान गर्ने बिषयमा सम्झौता भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा कृषि क्षेत्रको सूचना, विश्लेषण र परामर्श सेवा आदान प्रदान गर्ने उद्देश्य राखेर यो सम्झौता भएको हो । सम्झौता कार्यक्रममा भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (नेशनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेड–एनसेल) का प्रबन्ध निर्देशक उनुपम कौशिकको पनि उपस्थिति थियो ।
संघका अध्यक्ष कुमुद दुगडका अनुसार निजी क्षेत्रको प्रयासमा सम्झौताअनुसार भु उपग्रहको सहयोगमा नेपालको कृषि क्षेत्रको पहिचान गरिनेछ । यसका लागि भारतको एग्रिवाचले सहयोग गर्नेछ ।
उनका अनुसार बैज्ञानिक आधारमा खाद्यान्न वालीको तथ्याँक, किसानको समस्या र समाधानका उपायहरुको बारेमा पनि ति दुवै संस्थाले सहकार्य गर्नेछन् ।
यो सम्झौताअनुसार नेपालको कृषि वस्तुको दैनिक, साप्ताहिक र मासिक रुपमा मूल्य संकलन गरी त्यसको आधारमा बजार विश्लेषण गर्ने काम हुनेछ । यस्तै भारतको एग्रिवाचले कृषि वस्तुको अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराउनेछ । यसमा उत्पादन, उपभोग, आयात र निर्यातका क्षेत्र समावेश हुनेछन् ।
यसैगरी बीउ, मल, कृषि प्राविधिक सेवा, कृषिमा लगानीको बिषयमा अध्ययन र सल्लाह उपलब्ध गराइनेछ । त्यस्तै सूचना प्रविधिअन्तर्गत एआईमा आधारित खाद्यान्न वाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, बजार पहुँच, कृषिसम्बन्धी ताजा जानकारी समाचार र रिर्पोटहरु उपलब्ध गराइनेछ ।
भारत सरकारले नेपाललाई कोटामार्फत चिनी, गहुँलगायतका खाद्यान्न र सहायक कृषि उत्पादनहरु यहि एनसेलमार्फत उपलब्ध गराउँदै आएको छ ।
वार्षिकोत्सवको अवसरमा मन्त्री भण्डारीले नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघको संस्थापक अध्यक्ष रविन्द्रबहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।








प्रतिक्रिया